विश्व

बंगलादेशमा यस वर्ष चट्याङ लागेर तीन सय जनाको मृत्यु

इकागज |
असोज २०, २०८१ आइतबार ७:१ बजे

ढाका- बंगलादेशमा यस वर्ष चट्याङमा परी करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् ।

यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ । 


‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो ।

सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ । 

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय मृत्यु भएको बताइएको छ । 

एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्यूज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

बंगलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्षेनी सयौँले अकालमा ज्यान गुमाउने गरेका उक्त संस्थाले जनाएको छ ।

बंगलादेशले हालैका वर्षहरूमा चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या बढेको र विज्ञहरूले यो अवस्थालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेका पाइन्छ । (सिन्ह्वा)


Author

थप समाचार
x