विश्व

'इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार छ'

इकागज |
असोज २०, २०८१ आइतबार १९:२५ बजे

काठमाडौँ - इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

“इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ”, सशस्त्र सेनाको सूचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले बताएको छ ।​


इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी)ले मङ्गलबार तेहरानसँग सम्बद्ध समूहका नेताहरू आक्रमणमा मारिएको प्रतिशोधमा इजरायलमा करिब २०० वटा मिसाइल आक्रमण गरेको थियो । 

“यदि इजरायलले आक्रमण गर्‍यो भने इरानले प्रतिआक्रमण गर्नेछ भन्नेमा कुनै शंका हुनेछैन”, तस्निमले जनायो । 

बेरुतमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र आइआरजिसीका शीर्ष जनरल अब्बास निलफोरोसन हत्याको बदलामा मङ्गलबार इरानले इजरायलमाथि दोस्रो प्रत्यक्ष मिसाइल आक्रमण गरेको हो ।

विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायली आक्रमणको बदलामा इरानले आनुपातिक वा अझै कडा प्रतिक्रिया दिनसक्ने चेतावनी दिएका थिए । 

इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वको १० सबैभन्दा ठूलो तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह दिएका छन् । 
रासस


Author

थप समाचार
x