विश्व

‘नाभाल्नीलाई जेलमा नै आफ्नो मृत्यु हुन्छ भन्ने थाहा थियो’

इकागज |
असोज २७, २०८१ आइतबार ९:४५ बजे

न्यूयोर्क- अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनका तत्कालिन प्रमुख राजनीतिक प्रतिद्वन्द्वी रहेका रूसी विद्रोही एलेक्सी नाभाल्नीले आफू जेलमा नै मर्नुपर्छ भन्ने बुझेको उहाँको मृत्युपछि सार्वजनिक जेल डायरीमा उल्लेख गरेको भेटिएको छ। 

‘द न्यु योर्कर’ले शुक्रबार प्रकाशित गरेको पुस्तकका केही अंशमा नाभाल्नीको जेल डायरी र त्यसअघिका लेखहरू समावेश गरिएको छ। २२ मार्च २०२२ मा उनले लेखेका थिए, “म मेरो बाँकी जीवन जेलमा बिताउनेछु र यहीँ मर्नेछु । बिदाइ गर्ने कोही हुनेछैन । सबै वर्षगाँठहरू म बिना मनाइनेछ। म मेरा नातिनातिनालाई कहिल्यै देख्ने छैन।”


नाभाल्नीलाई आर्कटिकको एक पेनल कोलोनीमा ‘अतिवाद’ को आरोपमा १९ वर्षको जेल सजाय सुनाइएको थियो । फेब्रुअरी १६ मा ४७ वर्षको उमेरमा भएको उहाँको मृत्युको व्यापक निन्दा भएको थियो र धेरैले उनको मृत्युका लागि पुटिनलाई दोषी भएको बताएका छन् । 

सन् २०२० मा नाभाल्नीलाई विषाक्त पदार्थ सेवन गराई हत्या गर्ने प्रयास भएको थियो । बिष आक्रमणबाट गम्भीर स्वास्थ्य समस्या आएपछि उहाँको जर्मनीमा महिनौ लामो उपचार भएको थियो । उहाँलाई उपचारपछि रूस फर्कने क्रममा जनवरी २०२१ मा पक्राउ गरिएको थियो ।

जनवरी १७, २०२२ मा उनले लेखेका छन्, “हामीले डराउनुपर्ने एउटा मात्र कुरा के हो भने हामी आफ्नो मातृभूमि झूट, चोर र पाखण्डीहरूको गिरोहले लुट्नका लागि समर्पण गर्नेछौँ।”

पुस्तकमा डायरीका अंशहरूले कैदको एक्लोपन र प्रशासनको हास्यास्पद अनुसन्धानलाई प्रस्तुत गरेको छ । 

उदाहरणका लागि, जुलाई १, २०२२ मा नाभाल्नीले आफ्नो सामान्य दिनको रूपरेखा प्रस्तुत गर्दै लेखेका छन् बिहान ६:०० बजे उठ्ने, ६:२० मा ब्रेकफास्ट गर्ने र ६:४० मा काम सुरु गर्ने मेरो दैनिकी हो।

उनले लेखेको डायरीको अंशमा पुटिनको प्रशासनलाई व्यङ्ग्य गर्दै भनिएको छ, “कामको सिलसिलामा तपाईं घुँडाभन्दा होचो स्टुलमा सिलाई मेसिनमा सात घण्टा बस्नु र काम पछि, पुटिनको चित्रमुनि काठको बेन्चमा केही घण्टा बस्नुलाई ‘अनुशासनात्मक गतिविधि’ भनिन्छ।” 

‘प्याट्रियट’ शीर्षकको यो पुस्तक अमेरिकी प्रकाशक नोफले सार्वजनिक गर्नेछ। न्यु योर्करका सम्पादक डेभिड रेम्निकले लेखेका छन्,  “नाभाल्नीको जेल डायरी पढ्न कठिन छ।” जनवरी १७, २०२४ मा पत्रिकामा प्रकाशित अन्तिम अंशमा नाभाल्नीले आफ्ना सहकर्मी कैदीहरू र जेल गार्डहरूले सोधेको प्रश्नको जवाफ दिएका छन्ः उनी किन रूस फर्के?

“म आफ्नो देश छोड्न वा विश्वासघात गर्न चाहन्नँ। यदि तपाईंको विश्वासको कुनै अर्थ छ भने, तपाईं उनीहरूको विपक्षमा खडा हुन र आवश्यक भएमा बलिदान दिन तयार हुनुपर्छ,” उनले डायरीमा लेखेका छन् । (एएफपी) 


Author

थप समाचार
x