विश्व

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह

इकागज |
कात्तिक ३, २०८१ शनिबार २१:४९ बजे

फाइल फाेटाे

काठमाडौँ - अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।​

सैफ अल–अदेलका ससुरा अबु वालिद अल–मसरीका नामले समेत चिनिने मुस्तफा हमिदले शुक्रबार उक्त कुरा बताएका हुन् । 


इजरायली बन्धकहरूलाई जीवित र मृत अवस्थामा फर्काउनेतर्फ दिइएको ध्यानका कारण इजरायलले कब्जामा राखेका प्यालेस्टिनी कैदीहरूको भाग्यलाई ओझेलमा पारिरहेको हमिदले दाबी गरेका छन् ।

उनले इजरायलले बिहीबार नै मारेको घोषणा गरेका हमासका नेता याह्या सिनवारको प्रशंसा गरे । सन् २०२३ को अक्टोबर ७ मा इजरायलविरूद्ध गरिएको आक्रमणका मुख्य योजनाकार सिनवार थिए ।

वक्तव्यमा भनिएको छ, “हमासले अब ‘तत्काल’ बन्धक र उनीहरूका शवहरू फिर्ता गर्नुपर्छ र ‘लडाईँको यो अध्याय बन्द गर्नुपर्छ र फेरि खोल्नु हुँदैन, किनकि हामीलाई यसको परिणाम थाहा छ।”

“प्यालेस्टाइनी कैदीहरूको बारेमा मिडिया, छलफल वा वार्ता र प्रदर्शनमा कहीँ कसैले वास्ता गर्नेछैन,” विज्ञप्तिमा भनिएको छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणमा २५१ जनालाई बन्धक बनाएको थियो । त्यसयता कैयौँको मृत्यु भइसकेको छ भने केहीलाई डिसेम्बरको युद्धविराममा रिहा गरिएको छ भने ९७ जना अझै पनि इस्लामिक प्यालेिस्टनी लडाकू समूहको नियन्त्रणमा जीवित नै रहेको विश्वास गरिएको छ । 

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका लागि जिम्मेवार ठहरिएको अलकायदा अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएको आक्रमणको निशानामा परेको थियो ।

सन् २०११ मा ओसामा बिन लादेनलाई अमेरिकी विशेष फौजले छिमेकी मुलुक पाकिस्तानमा मारेको थियो । बिन लादेनका उत्तराधिकारी अयमान अल जवाहिरी सन् २०२२ को जुलाईमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए ।

नेताहरूको आक्रमणमा मृत्यु भएपनि अल–कायदाको इस्लामिक देशहरूमा छिटफुट प्रभाव छ । पूर्व इजिप्टियाली विशेष बलका लेफ्टिनेन्ट–कर्नेल रहेका नेता सैफ अल–अदेल इरानमा रहेको रिपोर्ट गरिएको छ।

एएफपीसँग परामर्श लिएका केही विज्ञका अनुसार हमिद अल–कायदाको मुख्य संगठनका उच्च पदस्थ व्यक्तिहरूसँग नजिक छन् ।

सिरिया, यमन, सोमालिया र मालीमा क्षेत्रीय सहयोगीहरू खडा गरेको यस समूहको इरानसमर्थित हमासमाथि खासै प्रभाव छैन।

हमासले शुक्रबार गाजा युद्धको अन्त्यमा कुनै पनि बन्धकलाई रिहा नगर्ने प्रतिबद्धता जनाएको छ ।

विश्लेषकहरूका अनुसार सिनवारको कुनै उत्तराधिकारी तत्काल घोषणा नभएको र हमासको नेतृत्वमा शून्यता रहेकाले उनीहरूको रिहाइका लागि वार्ता गर्न कोही भेट्टाउन कठिन हुनेछ।


Author

थप समाचार
x