Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

विश्व

अस्ट्रेलियामा राजा चार्ल्सको विरोध, सिनेटरले गरिन् नाराबाजी

इकागज |
कात्तिक ५, २०८१ सोमबार २०:४८ बजे

काठमाडौँ - अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको छ । राजा चार्ल्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए । यसै क्रममा एक सिनेटर लिडिया थोरपेले राजा चार्ल्सको विरुद्धमा नारा लगाएकी थिइन् । उनले नारा लगाउँदै तिमी आफूहरूको राजा नभएको बताएकी थिइन् ।

सिनेटर थोरपेले भनिन्, 'तिमी हत्यारा हौ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौ ।' उनले राजा चार्ल्सलाई आफ्नो भूमि, पुर्खाको हड्डी र कलाकृतिहरू मूल निवासीहरूलाई फिर्ता गर्न आग्रह समेत गरेकी थिइन् । साथै सिनेटर लिडियाले बेलायती साम्राज्यले आफ्नो भूमि बर्बाद गरेको भन्दै नारा लगाएकी थिइन् ।


राजा चार्ल्सको विरोधमा उत्रिएकी लिडिया परम्परागत लुगा लगाएर संसद पुगेकी थिइन् । नाराबाजीपछि सुरक्षाकर्मीले उनीहरूलाई संसदबाट बाहिर निकालेका थिए । संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लिडियाले अष्ट्रेलियाको औपचारिक प्रमुख राजा रहुन्जेल बेलायती साम्राज्यको विरोध गरिरहने बताइन् ।

उनले अरु देशका राजाले आफूलाई आदेश दिन नसक्ने बताइन् । लिडिया थोरपे अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट स्वतन्त्र सिनेटर हुन् । उनी बेलायती राजतन्त्रको विरुद्धमा बोल्ने व्यक्तिको रूपमा परिचित छन् ।

सन् २०२२ मा सिनेटरको सपथ लिँदा उनले बेलायती राजालाई 'औपनिवेशिक महामहिम' भनेर सम्बोधन गरेकी थिइन् । यसपछि उनलाई फेरि सपथ लिन भनिएको थियो ।

राजा चार्ल्स क्यान्सरबाट निको भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा छन् । उनको यो भ्रमणमा उनकी पत्नी रानी क्यामिला पनि साथमा छिन् ।

अस्ट्रेलिया सन् १९८६ मा स्वतन्त्र भएको थियो । तर त्यहाँ संवैधानिक राजतन्त्र कायमै छ । अष्ट्रेलियामा बेलायती राजालाई औपचारिक रूपमा राज्यको प्रमुख मानिन्छ । यद्यपि, १९९९ जनमत संग्रहमा अस्ट्रेलियाली जनताले अष्ट्रेलियालाई ब्रिटिश साम्राज्यको डोमिनियन राज्य बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए ।

सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायती साम्राज्यसँगको सम्बन्ध तोड्ने बहसले फेरि गति लिएको छ ।


Author

थप समाचार
x