विश्व

नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग

इकागज |
कात्तिक ७, २०८१ बुधबार १५:० बजे

काठमाडौँ - इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठुलो भाग खाली गर्ने चेतावनीसहितको निकासी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् ।

टायरको विपद् व्यवस्थापन एकाइका प्रमुख मोर्ताडा महन्नाले यहाँको “अवस्था निकै खराब भएकाले तीव्र गतिमा मानिसहरूलाई  सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताए । 


व्यवस्थापन एकाईका मिडिया अफिसर बिलाल काशमारले धेरैजना सहरबाट भागेर उपनगरतिर गएको बताए । उनका अनुसार हाल सम्पूर्ण  टायर सहर खाली भएको छ ।

कयौँ पीडाहरुको सामना गरि बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । 

इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरेपछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ । 
 
सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सा सहितको फोटो पोस्ट गर्दै तुरुन्तै प्रभावित क्षेत्रबाट बाहिर निस्कि जीवन खतराबाट जोगाउन आह्वान गरेका छन् ।   
 


Author

थप समाचार
x