विश्व

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

इकागज |
कात्तिक ७, २०८१ बुधबार २०:९ बजे

काठमाडौँ - दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत गर्न युक्रेनको मोर्चामा लडिरहेको दाबि गरिएको छ ।

अघिल्लो साता पनि दक्षिण कोरियाले उत्तर कोरियाली सैनिक युक्रेनी मोर्चामा लडिरहेको कुरा गरेको थियो । बुधबार दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुख चो ताए यङले संसदीय समितिलाई यसबारे जानकारी दिएका थिए । बैठकपछि दक्षिण कोरियाका सांसदहरूले पनि यसको पुष्टि गरेका छन् ।


उत्तर कोरियाले डिसेम्बरसम्ममा आफ्ना १० हजार सैनिक रुस पठाउने तयारी गरिरहेको दक्षिण कोरियाली गुप्तचर प्रमुख चो ते यङले बताएका छन् । हालै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफूसँग १० हजार उत्तर कोरियाली सैनिक रुसको तर्फबाट युद्ध लड्न तयार रहेको जानकारी रहेको दाबी गरेका थिए । पछिल्लो दुई वर्षमा रुस र उत्तर कोरियाबीचको सम्बन्ध निकै सुमधुर बनेको छ ।

जुन महिनामा दुवै देशले महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए जसअन्तर्गत कुनै पनि देशमा आक्रमण भएमा दुवै देशले एकअर्कालाई तत्काल सैन्य सहायता उपलब्ध गराउनेछन् ।

दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले पनि उत्तर कोरियाले सन् २०२३ को अगस्टदेखि करिब १३ हजार कन्टेनर तोपखाना, मिसाइल र अन्य हतियार रुस पठाएको दाबी गरेका छन् । युक्रेन युद्धमा सहयोगको बदलामा रुसले उत्तर कोरियालाई महत्वपूर्ण हतियार र प्रविधि उपलब्ध गराउन सक्ने दक्षिण कोरियाको डर छ ।

उनीहरूले उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रममा रुसले पनि सहयोग गर्न सक्ने आशंका गरेका छन् । तर, अमेरिका र नेटो देशहरूले अहिलेसम्म उत्तर कोरियाले युक्रेनको मोर्चामा आफ्ना सेना पठाएको पुष्टि गरेका छैनन् ।


Author

थप समाचार
x