विश्व

इरानमाथिको आक्रमणबारे के भन्छ इजरायली सेना ?

इकागज |
कात्तिक १०, २०८१ शनिबार १०:५५ बजे

काठमाडौँ- इजरायली सेना (आईडीएफ)ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ ।


यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विष्फोटको आवाज सुनिएको पनि जानकारी दिएको थियो ।

इजरायलले विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य रहेको भन्दै इरानमाथि जवाफी कारवाही शुरु गरेको बताएको थियो ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले अक्टोबर ७, २०२३ पछि इरानको शासन र यस क्षेत्रका उसका सहयोगीहरूले लगातार इजरायलमा आक्रमण गरेको बताउँदै आफुहरू रक्षात्मक र आक्रामक क्षमता पूर्ण रुपमा सक्रिय रहेको बताएका थिए । 

अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले यी आक्रमणहरू गरेको बताएको छ । राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुन सक्ने बताएको बताएको थियो ।

यद्यपी इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

समाचार एजेन्सी एएफपीले इरानको सरकारी टिभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ।

ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ । यद्यपी आक्रमण कुन स्तरमा र कुन स्थानमा भएको हो भन्ने खुल्न सकेको छैन ।

सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ ।

इरानले इजरायलमा अक्टोबर १ मा २ सय भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । 


Author

थप समाचार
x