विश्व

गाजा युद्धमा एक वर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

इकागज |
कात्तिक १३, २०८१ मंगलबार ८:४८ बजे

काठमाडौँ- प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ । जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा अस्पतालमा ल्याइएका ९६ जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजामा गत साताको अन्त्यमा अस्पतालमा भएको आक्रमण सहितको अपरेशन सुरु गरेको बताएको छ । सेनाले अस्पतालमा शुक्रबारको क्र्याकडाउन पछि १०० संदिग्ध हमास लडाकुलाई पक्राउ गरेको जनाएको छ।


यद्यपि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजरायलले अस्पतालका ४४ कर्मचारीलाई हिरासतमा लिएको आरोप लगाएको छ । प्यालेस्टिनी चिकित्सा अधिकारीहरूले यो अस्पताल आक्रमणमा गम्भीर क्षति भएको बताएका छन् ।

अस्पतालमा करिब दुई सय बिरामीको उपचार भइरहेको थियो । आइडीएफले हमास र अन्य चरमपन्थीहरूले सैन्य उद्देश्यका लागि अस्पतालहरू प्रयोग गरिरहेको बताएको छ । जबकि प्यालेस्टिनी चिकित्सा अधिकारीहरूले यी आरोपहरूलाई अस्वीकार गर्दै इजरायली सेनाले जानाजानी नागरिकहरूको जीवनलाई खतरामा पारेको आरोप लगाएका छन् ।

यस महिनाको सुरुमा, संयुक्त राष्ट्र संघले कम्तिमा ४ लाख मानिसहरू अझै उत्तरी गाजामा फसेको र मानवीय सहायताको कमीको कारण भोकमरीमा परेको बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धमा कम्तिमा ४३ हजार २० जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख एक ग्जार ११० जना घाइते भएका छन् । हमास लडाकुले अक्टोबर ७ मा इजरायलको सुरक्षा बार तोडेर घुसपैठ गरेपछि युद्ध सुरु भएको थियो ।

जसमा करिब १२ सय जनाको ज्यान गएको थियो । तीमध्ये अधिकांश इजरायलका नागरिक थिए । साथै दुई सय पचास जना अपहरणमा परेका थिए, जसमध्ये अझै करिब सय जनाको अवस्था अज्ञात रहेको छ ।


Author

थप समाचार
x