रूस र उत्तर कोरियाबीचको बढ्दो सम्बन्ध हाम्रो चासोको विषय होइन् : चीन
बेइजिङ- संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाका आठ हजार सैनिक युक्रेनसँगको युद्धका लागि तालिम प्राप्त र तयार रहेको रुसको सीमा क्षेत्रमा पुगेको चेतावनी दिएपछि चीनले प्योङयाङ र मस्कोबीचको बढ्दो सम्बन्ध आफ्नो चासोको विषय नभएको बताएको छ ।
“उत्तर कोरिया र रूस दुई स्वतन्त्र सार्वभौम राष्ट्र हुन् । उनीहरूले द्विपक्षीय सम्बन्ध कसरी विकास गर्छन् भन्ने कुरा उनीहरूको आफ्नै विषय हो,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने ।
युक्रेनमाथिको आक्रमणको फाइदा उठाउँदै राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाबाट सैनिक र सैन्य सामग्री स्वीकार गरेका छन् । एक शताब्दीभन्दा बढी समयपछि पहिलो पटक रुसले आफ्नो भूमिमा विदेशी सेनालाई आमन्त्रण गरेको हो ।
अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसमा रहेका १० हजार उत्तर कोरियाली सैनिकमध्ये करिब आठ हजार कुस्र्क सीमा क्षेत्रमा पुगेको बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाली सेनामाथि आफ्ना सहयोगीले गरेको अकर्मण्यताको निन्दा गर्दै चीनको ‘मौनता’बाट आफू आश्चर्यचकित भएको बताएका छन् ।
जवाफमा बेइजिङले शुक्रबार उत्तर कोरिया र रूसबीच द्विपक्षीय आदानप्रदान र सहयोगको विशिष्ट अवस्थाबारे आफूलाई थाहा नभएको बताएको छ ।
लिनले भने, “विभिन्न पक्षले स्थितिलाई सहज बनाउने र युक्रेन सङ्कटको राजनीतिक समाधानका लागि काम गर्ने आशा गर्ने चीनको अडान परिवर्तन भएको छैन ।” (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया