आदिवासी प्रतिनिधित्वका लागि संयुक्त राष्ट्र प्रकृति शिखर सम्मेलनद्वारा निकाय स्थापना
काली (कोलम्बिया)- विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण सम्मेलनले शुक्रबार कोलम्बियाको कालीमा संयुक्त राष्ट्रसङ्घको जैविक विविधता सम्मेलनअन्तर्गत आदिवासी जनताको हितको प्रतिनिधित्व गर्न एउटा स्थायी निकाय स्थापना गर्न सहमति जनाएको छ ।
एक सय ९६ देशहरूले ‘आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयहरू’ का लागि समर्पित एउटा ‘सहायक निकाय’ स्थापना गर्न सहमति जनाएपछि परम्परागत पोशाक र शिरपेचमा सजिएका आदिवासी जनताका प्रतिनिधिहरूले हर्षोल्लासका साथ जयजयकार गरेका थिए ।
यो जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसङ्घको सम्मेलनको १६औँ पक्ष सम्मेलन (कोप१६) को पहिलो ठूलो सफलता थियो । यो करिब दुई हप्ताअघि कालीमा सुरु भएको थियो र प्रकृति संरक्षणका योजनाहरूका लागि कोष जुटाउने तरिकाहरूमा प्रतिनिधिहरू बीच मतभेद भएपछि शुक्रबार अतिरिक्त समयसम्म चलेको थियो ।
“यो वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूको इतिहासमा एक अभूतपूर्व क्षण हो”, चिलीकी आदिवासी प्रतिनिधि कमिला रोमेरोले शिखर सम्मेलनमा खुसी व्यक्त गर्दै भने । सम्मेलनको विषय ‘प्रकृतिसँग शान्ति’ रहेको थियो ।
उनले भने, “पक्षहरूले हाम्रो पूर्ण र प्रभावकारी सहभागिता, हाम्रो ज्ञान र नवप्रवर्तन, प्रविधि र परम्परागत अभ्यासहरूको निरन्तर आवश्यकतालाई मान्यता दिएका छन् ।”
प्रतिनिधिहरूले नयाँ सहायक निकायमा अफ्रिकी मूलका समुदायहरूको विशिष्ट भूमिकामा पनि सहमति जनाएका छन् । यद्यपि केही विवरणहरू अझै टुङ्गो लगाउन बाँकी छ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया