विश्व

रुपर्ट मुर्डोकको मिडिया साम्राज्यको उत्तराधिकारी को बन्ला ?

इकागज |
कात्तिक २७, २०८१ मंगलबार १०:४४ बजे

९३ वर्षीय मिडिया मुगल रुपर्ट मुर्डोक आफ्नो मिडिया साम्राज्यको उत्तराधिकारीको विषयमा आफ्ना चारमध्ये तीन सन्तानसँग कानुनी लडाइँमा फसेका छन् । सेप्टेम्बरमा अमेरिकाको नेभाडा राज्यको रेनो शहरको एक अदालतमा यस मुद्दाको सुनुवाइ सुरु भएको थियो । रुपर्ट मर्डोकलाई उनका छोराछोरी जेम्स, प्रुडेन्स र एलिजाबेथले साथ दिएका छन् ।

बन्द ढोकामा भएका सुनुवाइपछि, न्यायाधीशले मुर्डोकका चार छोराछोरी मध्ये कसलाई करिब पच्चीस वर्ष अघि स्थापना गरेको मिडिया ट्रस्टको नियन्त्रण सुम्पने भन्ने निर्णय गर्नुपर्ने भएको छ ।


मुर्डोकको बिलियन डलरको मिडिया कम्पनी न्यूज कर्पसँग फक्स न्यूज, द वाल स्ट्रीट जर्नल र बेलायतको सन अखबारसहितका विश्वभरि सयौं अखबार र टेलिभिजन च्यानलहरू छन् । यस साम्राज्यको नियन्त्रणको लागि मुर्डोक परिवार भित्र चलिरहेको लडाई प्रख्यात टिभी शृंखला 'सक्सेसन' को कथा जस्तै छ, जसमा एकअर्कालाई चकित पार्ने षड्यन्त्र र चालहरू रहेको बताइन्छ ।

विगत सत्तरी वर्षमा, मुर्डोकले आफ्नो मिडिया साम्राज्य मार्फत धेरै विश्व नेताहरूलाई प्रभाव पारेका छन्, तर अहिले उनी ९३ वर्षका पुगेका छन् र आफ्नो विरासत सुनिश्चित गर्न चाहेका छन् ।

साम्राज्यको उदय
मिडिया संसारमा मुर्डोक परिवारको प्रवेश पछिल्लो शताब्दीको पहिलो आधामा सुरु भयो । मुर्डोकका बुबा किथ अष्ट्रेलियाका प्रसिद्ध अखबारका सम्पादक थिए । पछि उनले आफ्नै अखबार प्रकाशित गर्न थाले र उनको पछि यो व्यवसाय उनको छोरा रुपर्टले लिने निर्णय गरे ।

रूपर्टका बुबाले आफ्नो सद्भावना र प्रतिष्ठालाई एडिलेडमा मिडिया कम्पनी बनाउन प्रयोग गरे र १९५२ मा उनको मृत्यु पछि, रूपर्टले यसलाई विरासतमा पाए । रुपर्टले पछि यो कम्पनीलाई आफ्नो आधार बनाएर मिडिया साम्राज्य निर्माण गरे ।
त्यतिबेला रुपर्ट मात्र २३ वर्षका थिए र उनले अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन पूरा गरेका थिए । 

त्यसबेला उनी वामपन्थी विचारधाराबाट प्रभावित भएको बताइएको छ । उनले आफ्नो कोठामा लेनिनको मूर्ति पनि राखेका थिए । पत्रिकाको मालिक भएकाले सुरुका दिनमा उनले सरकारलाई चुनौती दिन थाले । त्यसबेला उनले अष्ट्रेलियाको रूढिवादी व्यवस्थालाई चुनौती दिन थाले र त्यतिबेला उनको सोच र तरिका पनि विवादले घेरिएको थियो ।

१९५९ मा एक नाटकीय मोड आयो, जब रुपर्टको अखबारले रूपर्ट म्याक्सवेल स्टुअर्ट नामको मूल निवासीको पक्षमा रिपोर्ट गर्यो । यो व्यक्ति ९ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर भएको थियो । रुपर्टको अखबारले त्यो मुद्दामा सुनवाई निष्पक्ष ढंगले सञ्चालन नभएको रिपोर्ट गर्यो । अखबारको अभियानको नतिजा त्यो व्यक्तिलाई दिइएको मृत्युदण्ड खारेज भयो ।

तर यो अभियान अन्तर्गत सरकारले रुपर्ट र उनको पत्रिकाको रिपोर्टिङ विरुद्ध मुद्दा दायर गर्यो । सो मुद्धाको सुनुवाइको क्रममा सरकारी वकिलले भडकाऊ हेडलाइन्स बनाउने लगायत अन्य धेरै प्रमाणहरू पेश गरेको बताइएको छ । अन्ततः रूपर्टविरुद्धको आरोप फिर्ता लिइयो र रुपर्टले आफ्नो सम्पादकलाई बर्खास्त गरे ।

तर, सत्तामा रहेकाहरूसँग झगडा गर्नुको सट्टा आफ्नो प्रभाव बढाएर सरकारविरुद्ध प्रयोग गर्नु राम्रो हुन्छ भन्ने पाठ यस घटनाबाट उनले सिकेका बताएका थिए । त्यो घटनापछि मात्रै उनले सरकारमा प्रभाव पार्न आफ्नो पत्रिका प्रयोग गर्न थाले । त्यसपछि उनले सिड्नीको मिडिया बजारमा आफ्नो स्थान बनाउन थाले । पछि रुपर्टले कम्जोर अवस्था भएका अखबार प्रकाशन कम्पनीहरू किन्न थाले । यसरी उनले नयाँ बजारमा ठाउँ सृजना गरी किनेका पत्रपत्रिकालाई आफ्नो विचारअनुसार ढालेर नाफा कमाउन थाले । अष्ट्रेलियापछि उनले विदेशमा पनि यो व्यवसायको मोडल अपनाए । अष्ट्रेलियापछि उनको व्यवसाय बेलायतमा फैलियो ।

किङ मेकर 
डेभिड फोल्केनफ्लिक, एनपीआर न्यूजका मिडिया मामिला संवाददाता र पुस्तक 'मर्डोकको वर्ल्ड - द लास्ट अफ द ओल्ड मिडिया एम्पायर' का लेखक भन्छन्, रूपर्टको मानिसहरूले पढ्न वा हेर्न चाहेको समाचार प्रकाशित गर्नुपर्छ भन्ने विश्वास थियो । सन् १९६० को दशकमा रुपर्टले बेलायतको समाचारपत्र ‘न्यूज अफ द वर्ल्ड’ किनेका थिए । सनसनीपूर्ण समाचारका कारण यो पत्रिका लोकप्रिय भएको थियो । त्यसपछि उनले ‘सन’ पत्रिका किने । यस पत्रिकामा यौन, अपराध, खेलकुद र मनोरञ्जनका समाचारलाई बढी जोड दिइन्छ । योसँगै बेलायती समाजका माथिल्लो वर्गका मानिसहरूका घोटालाहरूको पनि चर्चा गर्ने गर्दछ । यस अखबारको मूल मन्त्र भनेको मानिसहरूले पढ्न चाहेको कुरा उनीहरूलाई सेवा दिनुपर्छ भन्ने हो ।

१९७० मा, रुपर्टले अमेरिकाको मिडिया संसारमा आफ्नो खुट्टा स्थापित गर्न थाले । त्यहाँ उनले पहिले सान एन्टोनियो एक्सप्रेस न्यूज अखबार र त्यसपछि न्यु योर्क पोस्ट किने । त्यसपछि उनी टेलिभिजन कम्पनीतिर लागे । १९८५ मा, उनले ट्वान्टीथ सेन्चुरी फक्सको फिल्म उत्पादन इकाई खरिद गरे र त्यसपछि धेरै टेलिभिजन कम्पनीहरू किने जुन पछि फक्स नेटवर्क भनेर चिनिन थाल्यो ।

त्यसपछि उनले अमेरिकी फुटबल एनएफएल खेलहरू प्रसारण गर्ने अधिकारहरू किने, जुन एक लाभदायक सम्झौता साबित भयो । फक्स न्यूज १९९६ मा बजारमा प्रवेश गर्यो । यस अवधिमा रुपर्टले बेलायतमा द टाइम्स र सन्डे टाइम्स पत्रिकाहरू किनेका थिए । यी पहिले स्वतन्त्र अखबारहरू थिए, तर रुपर्टको नियन्त्रणमा आएपछि तिनीहरूको राजनीतिक झुकाव दक्षिणपन्थी भयो । त्यसपछि १९८९ मा रुपर्टले स्काई टेलिभिजन सुरु गरे । यी मिडिया सञ्जालबाट उनीहरूले आर्थिक फाइदा मात्रै पाएनन्, राजनीतिमा आफ्नो प्रभाव पनि बढाए ।

उनले प्रधानमन्त्री वा प्रधानमन्त्री पदका दावेदारहरूसँग भेटघाट गरेको बारम्बार देखाइने गर्न थालियो । यी राजनीतिज्ञहरू हजारौं माइलको यात्रा गरी रुपर्टलाई भेट्न न्यूयोर्क आउँदै गरेको देखाइन थालियो । 

२००७ मा वाल स्ट्रीट जर्नल खरिद गरेर, रुपर्टले अमेरिकी राजनीति र वित्तमा आफ्नो स्थानलाई अझ बलियो बनाए । धेरै सरकारका नेताहरूले रुपर्टलाई खुसी राख्न खोज्न थाले । सरकारहरुले रुपर्टलाई करमा छुट दिनुका साथै उनले उनीहरूका लागि अनुकूल नीति नियमहरू अपनाउन थाले ।

२०१६ मा, फक्स न्यूजले डोनाल्ड ट्रम्पको अभियानलाई समर्थन गर्न थाल्यो र अर्को चार वर्षसम्म उनले आफ्नो राष्ट्रपतिको कार्यकालमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्न जारी राखेको थियो ।

यस अवधिमा फक्स न्यूजले पनि धेरै नाफा कमाएको बताइन्छ । सन् २०२० मा चुनाव हारेपछि ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए । फक्स न्यूजले यी आरोपहरू धेरै पटक दोहोर्यायो । यसले फक्स न्यूजको प्रतिष्ठामा चोट पुर्‍यायो र यसले घाटा पनि बेहोर्नुपररेको थियो । अन्ततः, २०२३ मा, उनले आफ्नो लोकप्रिय कार्यक्रमको होस्ट टकर कार्लसनलाई हटाए ।

यसपछि उनले कानुनी मामिला मिलाउन ७८ करोड डलर तिर्नुपर्ने भयो । रुपर्टको लागि, यो एक संकेत थियो कि ट्रम्पलाई समर्थन गर्नु उसलाई महँगो महँगो परेको थियो ।

रुपर्टको साम्राज्यको उत्तराधिकारी
रूपर्ट मुर्डोक र उनकी दोस्रो पत्नी बीचको १९९९ मा सम्बन्ध विच्छेद हुदा एक ट्रस्ट सिर्जना गरे जसमा उनको मिडिया साम्राज्य न्यूज कर्पोरेशन र फक्स कर्पोरेशनको बोर्डमा भोटिङ अधिकारको चालीस प्रतिशत उनका चार छोराछोरीहरूमा बाँडिएको थियो । तर त्यसयता धेरै परिवर्तन भएको छ । किनभने रूपर्टका तीन नयाँ पत्नीहरू बाहेक, थप दुई बच्चाहरू पनि थपिएका छन् ।

अब रुपर्ट ट्रस्टको नियम परिवर्तन गर्न चाहन्छन् र भोटिङको अधिकार चार सन्तानमा बाँड्नुको सट्टा सबै अधिकार आफ्नो जेठो छोरा लाचलान मुर्डोकलाई मात्र दिन चाहन्छन् । यसका लागि उनले नेभाडाको एक अदालतमा निवेदन दिएका छन् ।

लचलान मुर्डोकले मिडिया कम्पनीहरूलाई पहिल्यै नियन्त्रणमा राखेको बताइन्छ । यदि उनले यी कम्पनीहरू सञ्चालन गर्ने पूर्ण प्रशासनिक अधिकार भएको भए आफ्नो रणनीतिलाई अझ राम्ररी लागू गर्न र कम्पनीहरूलाई फाइदा पुर्‍याउन सक्ने बताइएको छ । 

रूपर्टका छोरीहरू प्रुडेन्स र एलिजाबेथ मिडिया साम्राज्यको सम्पादकीय झुकावसँग सहमत छैनन् । उही समयमा, लचलानका कान्छो भाइ जेम्स मुर्डोकले पनि फक्स न्यूजको सम्पादकीय प्रवृत्तिसँग असन्तुष्टिको कारणले फक्स न्यूजबाट राजीनामा दिएका थिए । तर सत्य यो पनि हो कि यो दक्षिणपन्थी प्रवृत्तिका कारण यी मिडिया कम्पनीहरूले नाफा कमाउन थालेका छन् । यदि यी कम्पनीहरूको राजनीतिक कभरेज परिवर्तन भयो भने, यसले कम्पनीको मूल्यमा गिरावट ल्याउने पनि बताइन्छ ।

तिनीहरूको लोकप्रियता कम हुनेछ, जसले विज्ञापन राजस्व कम हुने छ । यदि फक्स नेटवर्कको कभरेज जेम्स मुर्डोकको इच्छा अनुसार मोडरेट गरिएको थियो भने, कम्पनीले घाटा भोग्ने बताइन्छ ।

यो तर्क रुपर्टले अदालतमा गरिरहेका छन् । रुपर्टका छोराछोरीहरूमा विचारधाराको भिन्नता छ, तर यदि यो मुद्दा अदालतमा पुग्यो भने, यसले कम्पनीको व्यवसायमा नकारात्मक असर गर्ने निश्चित छ ।

मिडिया कम्पनीहरूको मुद्दा अदालतमा पुग्यो भने यसले कम्पनीको काममा अराजकता सिर्जना गर्छ र कम्पनीलाई नोक्सान पुर्‍याउँछ किनभने यसले लगानीकर्ताहरूको हात फिर्ता हुने छ । यस मामिलामा अदालतको निर्णय पछि, रुपर्टको  परिवारका यी सदस्यहरूले यो विषयलाई थप तान्नुको सट्टा यसलाई स्वीकार गर्नेछन् र यो विवादलाई पूर्ण विराम लगाएर अगाडि बढ्ने विश्वास गरिएको छ ।

साम्राज्यको भविष्य
न्युज कर्प र फक्स कर्पोरेशनको भविष्यले कम्पनीहरू चलाउन लाचलान मुर्डोकले पूर्ण मतदान नियन्त्रण पाउँछ कि हुँदैन भन्ने कुरामा निर्भर हुने बताइन्छ ।

यो स्पष्ट छ कि रूपर्ट मुर्डोकले आफ्नो मन परिवर्तन गरिसकेका छन् र अब उनी लाचलानलाई न्यूज कर्प र फक्स कर्पको अध्यक्ष र सीईओको रूपमा नियुक्त गर्न चाहन्छन् ताकि उनले यो मिडिया साम्राज्यलाई अर्को चरणमा लैजान सकून् ।

रुपर्ट लामो समयदेखि लाचलानसँग काम गर्दै आएका छन् र उनलाई विश्वास गर्छन् । उनी आफ्ना अन्य छोराछोरीहरू लाचलनको विरुद्धमा लडाउन चाहँदैनन् । तर उनको यो कदमले पक्कै पनि उनका छोराछोरीहरूबीच असन्तुष्टि भने पैदा गरेको छ ।

सैद्धान्तिक रूपमा लाचलानले आफ्ना भाइबहिनीहरूको मतदान अधिकार किन्न सम्भव हुन सक्छ । तर धेरै मानिसहरू यसमा संलग्न छन् र यसको लागि धेरै पैसा चाहिन्छ । मुर्डोक भाइबहिनीहरूबीच सम्झौताको लागि वार्ता भइरहेको अफवाह पनि छ । यसले पैसाको बदलामा लाचलानले आफ्ना भाइबहिनीहरूको मतदान अधिकार प्राप्त गर्ने विकल्पको बारेमा पनि छलफल भैरहेको पनि चर्चा छ । यसका लागि उनीहरूलाई कति पैसा चाहिन्छ भन्न भने गाह्रो रहेको छ ।

रूपर्टले केही समय राजनीतिमा ठूलो भूमिका खेले । तर अहिले मानिसहरू, विशेष गरी युवाहरूले पत्रपत्रिका पढ्न कम गरेका छन्, जससँगै त्यो युगको अन्त्य हुँदैछ । अहिले पत्रपत्रिकाको ठाउँमा नयाँ मिडिया आएका छन्, जसको प्रभाव बढी छ । मलाई लाग्छ इन्टरनेटको नयाँ संसारमा उस्तै भूमिका अरू कसैले खेल्न सक्नेछैन ।

चालीस वा पचास वर्ष उमेर समूहका मतदातामा परम्परागत सञ्चारमाध्यमले केही प्रभाव पारेको भए पनि अहिले त्यो प्रभाव पहिलेको जस्तो छैन । मुर्डोक साम्राज्यको उत्तराधिकारी छनोट गर्ने सवाल छ, रूपर्ट मुर्डोक लाचलानलाई छनोट गर्न चाहन्छन्, तर अब प्रश्न यो छ कि अदालतले उनलाई त्यसो गर्न अनुमति दिन्छ या दिदैंन ।


Author

थप समाचार
x