विश्व

चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी

इकागज |
मंसिर १३, २०८१ बिहीबार १७:१३ बजे

काठमाडौँ - भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले पत्रकार सम्मेलनमा भने,  “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।”


वुले बेइजिङको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का सदस्य तथा एडमिरल मियाओविरुद्ध लगाइएको आरोपबारे थप जानकारी दिएनन् ।  

मियाओ चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी चिनफिङसहित अन्य पाँच सदस्यसँगै कार्यरत थिए । 

उनले चिनियाँ सैन्य आयोग (सीएमसी)को राजनीतिक कार्य विभागको नेतृत्व गरेका थिए । यो शीर्ष सैन्य निकायको सबैभन्दा महत्त्वपूर्ण कार्यालय हो।

एशिया सोसाइटीका वरिष्ठ फेलो लाइल मोरिसले मियाओलाई सीको ‘घनिष्ठ सहयोगी’ र सेना र पार्टीबीच ‘विश्वसनीय वार्ताकार’ का रूपमा वर्णन गरेका छन् । 

बेइजिङले गत वर्ष सशस्त्र बलमा कथित भ्रष्टाचारविरुद्ध कडा कदम चालेको बताएको थियो र यसै महिना सीले सेनालाई भ्रष्टाचार निर्मूल पार्न र आफ्नो ‘युद्ध तयारी’ लाई मजबुत बनाउन आदेश दिएका थिए । 


Author

थप समाचार
x