अलेप्पो शहर पहिलो पटक सिरिया सरकारको नियन्त्रणभन्दा बाहिर
काठमाडौँ - सिरियाको दोस्रो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।
“हयात तहरीर अल–शाम र सहयोगी विद्रोही समूहहरूले कुर्दिश सेनाद्वारा नियन्त्रित छिमेकहरू बाहेक ‘अलेप्पो शहरलाई नियन्त्रण गरेका छन्,” युद्ध अनुगमनकारी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जारी एक विज्ञप्तिमा भनिएको छ ।
“सन् २०११ मा द्वन्द्व सुरु भएयता पहिलो पटक अलेप्पो सहर सिरियाली सरकारी सेनाको नियन्त्रणबाहिर पुगेको हो,” संस्थाका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग बताए ।
सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।
दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण सुरू गरेका थिए ।
सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरू’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ पुष्टि गरेको छ ।
केही दिनयता भएको झडपमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३११ पुगेको छ जसमा एचटीएस र सम्बद्ध समूहका १८३ एचटिएस लडाकू र १०० सरकार समर्थित सेनाका साथै २८ सर्वसाधारण रहेका छन् ।
सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो ।
त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया