विश्व

इजिप्टसँग गाजा युद्धविरामबारे छलफल गरेको हमासको भनाइ

इकागज |
मंसिर १७, २०८१ सोमबार २१:५९ बजे

फाइल फाेटाे

काठमाडौँ - हमासको प्रतिनिधिमण्डलले इजिप्टका गुप्तचर अधिकारीहरूसँग गाजामा युद्धविरामबारे छलफल गरेको छ ।

‘प्रतिनिधिमण्डलले इजिप्टको जनरल इन्टेलिजेन्सका प्रमुख मेजर जनरल हसन रसद र इजिप्टका धेरै गुप्तचर अधिकारीहरूसँग भेट गरी युद्ध र आक्रमण रोक्ने, सहायता ल्याउने र इजिप्टसँगको गाजाको सीमामा रफाह क्रसिङ खोल्ने तरिकाहरूबारे छलफल गरेको’ आइतबार साँझ कायरो बैठकमा सहभागी हमासका एक वरिष्ठ अधिकारीले बताए ।


“इजिप्ट, कतार र टर्कीले युद्धविराम र कैदी आदानप्रदानका लागि सहमतिमा पुग्न ठूलो प्रयास गरिरहेका छन्”, कायरोमा उपस्थित हमासका अर्का अधिकारीले भने, “हाम्रा प्यालेस्टिनी जनता (इजरायली प्रधानमन्त्री बेन्जामिन) नेतान्याहुमाथि युद्ध रोक्न र लेबनानमा भएको जस्तो सम्झौतामा पुग्न अमेरिकी र अन्तर्राष्ट्रिय दबाबको प्रतीक्षामा छन् ।”

इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहले संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा लेबनानमा युद्धविराममा सहमति जनाएको केही समयपछि यो बैठक भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ रूपमा युद्धविरामका लागि पहल सुरु गर्ने र आफ्ना दूतहरूलाई टर्की, कतार, इजिप्ट र क्षेत्रका अन्य सहभागीहरूसँग संलग्न हुन निर्देशन दिएको उनका ष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गत साता बताएका थिए । 

इजिप्टका अधिकारीहरूले आइतबार हमाससँगको कुनै पनि बैठक भएको बारे सार्वजनिक रूपमा टिप्पणी गरेनन् ।

पहिलो अधिकारीले हमासले सहमति जनाउने कुनै पनि सम्झौताले युद्धको सुरुआतदेखि समूहले उठाएका शर्तहरू समेट्नुपर्ने बताए ।

यी शर्तहरूमा पूर्ण युद्धविराम, पूर्ण इजरायली सैन्य फिर्ता, गाजामा बाधाविहीन मानवीय सहायता प्रवेश, विस्थापित प्यालेस्टिनीहरूको घर फिर्ती, ‘एकै पटक वा दुई चरणमा बन्दी विनिमयको गम्भीर सम्झौता’ र युद्धले क्षतिग्रस्त प्यालेस्टिनी क्षेत्रको पुनर्निर्माण समावेश छन् ।

 इजरायलले पनि बारम्बार हमासलाई वार्तामा ढिलाइ गरेको र इमानदारीपूर्वक सम्झौतामा पुग्न नचाहेको आरोप लगाएको छ ।


Author

थप समाचार
x