विश्व

भारतको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

इकागज |
मंसिर २९, २०८१ शनिबार ११:३७ बजे

नयाँदिल्ली- दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो ।


दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो र यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ । 

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै ६ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए ।  

प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए । 

टाइम्स अफ इन्डियाका अनुसार आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रूत गतिमा अन्य तलाहरूमा फैलियो । 

उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो । 

यसै वर्षको सुरुमा नयाँदिल्लीको एउटा बाल अस्पतालमा यस्तै आगलागीमा ६ जना शिशुको मृत्यु भएको थियो ।

मे महिनामा गुजरात राज्यको एउटा भरिएको मनोरञ्जन पार्क आर्केडमा आगलागी हुँदा केही बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो । (एएफपी)


Author

थप समाचार
x