बंगलादेशमा नोभेम्बरसम्ममा निर्वाचन गराउने मोहम्मद युनुसको घोषणा
फाइल फाेटाे
ढाका - बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा हुने आम निर्वाचनको सन्दर्भमा महत्वपूर्ण घोषणा गरेका छन् ।
युनुसले बंगलादेशको आम चुनाव २०२५ को अन्त्य र २०२६ को पहिलो ६ महिनाको बिचमा हुनसक्ने बताएका छन् । राजनीतिक दलहरुबाट चुनाव गराउन दबाब बढिरहेको बेला युनुसले यो प्रारम्भिक जानकारी दिएका हुन् ।
युनुसले सोमबार १६ डिसेम्बरमा सरकारी टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनको सम्भावित मितिबारे जानकारी दिए । उनले भने, ‘आवश्यक निर्वाचन कानुन र प्रकियामा सुधार गरेर मात्र निर्वाचन हुनुपर्नेमा मैले सधैं जोड दिएको छु ।’
युनुसले राजनीतिक दलहरूले सही मतदाता नामावली र अन्य आधारभूत सुधारका लागि सहमत भए सन् २०२५ नोभेम्बरको अन्त्यसम्ममा निर्वाचन हुनसक्ने बताए । तर, सुधारको सम्पूर्ण सूची कार्यान्वयन भएमा निर्वाचन केही महिना ढिलो हुन सक्ने उनको भनाइ छ ।
७७ वर्षीय पूर्व प्रधानमन्त्री शेख हसिनाले जुलाई २०२३ मा हिंसात्मक विद्यार्थी आन्दोलनका कारण अगस्ट ५ मा राजीनामा दिनु परेको थियो । हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री निवासतर्फ मार्च गरेपछि हसिनालाई भारतको अगरतला र त्यसपछि दिल्ली नजिकै गाजियाबादको गोप्य एयरबेसमा लगिएको थियो। शेख हसिना हाल भारतको एक अज्ञात स्थानमा बस्दै आएकी छिन् । उनको राजीनामापछि अगस्ट ८ मा मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको थियो ।
मोहम्मद युनुसले आफ्नो सम्बोधनमा निर्वाचन सुधार अन्तरिम सरकारको प्राथमिकता रहेको स्पष्ट पारेका छन् । उनले सुधारका माध्यमबाट निर्वाचन प्रक्रियालाई थप पारदर्शी र निष्पक्ष बनाइनेसमेत बताए ।
शेख हसिना सरकारको पतनपछि बंगलादेशमा राजनीतिक अस्थिरता बढेको छ । आगामी निर्वाचनको घोषणाले राजनीतिक दलबीच वार्ताको सम्भावना बढेको छ । तर, अहिलेको सबैभन्दा ठूलो चुनौती निर्वाचन सुधार र त्यसको समयसीमामा सहमति जुटाउने हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया