इरानले एकैदिन दियो ११ जनालाई फाँसी, गत हप्ता मात्रै ३४ जनालाई मृत्युदण्ड
तेहरान- इरान सरकारको निर्दयी अनुहार फेरि एकपटक बाहिर आएको छ ।
इरानले गत आइतबार मात्रै ११ जना कैदीलाई फाँसी दिएको छ भने एक राजनीतिक कैदीलाई गत हप्ता अन्य कैदीहरूबाट छुट्टै कक्षमा पठाइएको छ। एकै दिन ११ जना कैदीलाई मृत्युदण्ड दिए पछि मानवअधिकार संगठनहरूले इरान सरकारमाथि प्रश्न उठाएका छन् ।
नर्वेको हाङ्गाव र इरानको हलभास समूहले भनेका छन् कि मृत्युदण्ड दिइएका मध्ये ७ जनालाई मध्य इरानको याजद केन्द्रीय कारागारमा र ४ जनालाई दक्षिण पूर्वको जाहेदान केन्द्रीय कारागारमा फाँसी दिइएको थियो। यसरी फाँसी दिइएका कैदीहरू हत्या र लागूऔषध सम्बन्धी अपराधमा अभियुक्त थिए।
मानव अधिकार समूहहरूले यस हप्ता बुधबार र आइतवारको बीचमा इरानी जेलहरूमा कम्तिमा ३४ कैदीहरूलाई फाँसी दिइएको जानकारी दिएका छन । शनिबार राजनैतिक बन्दी समन मोहम्मदी–खियारेहलाई कारजको घेजेल हेसार कारागारको एकान्त कक्षमा पठाइएको थियो । यो कदमले उनलाई चाँडै फाँसी दिने संकेत गरेको छ । इरान इन्टरनेशनलका अनुसार उनको परिवारलाई अन्तिम भेटका लागि बोलाईएको छ ।
मोहम्मदी खियारेहलाई १९ वर्षको उमेरमा शासन विरोधी समूहहरूको सदस्यता मार्फत ‘भगवान विरुद्ध युद्ध’ गरेको आरोपमा गिरफ्तार गरिएको थियो, जसमा उनी दोषी पाइएको जनाइएको छ । र, हाल उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदन अनुसार विश्वका ५५ देशमा मृत्युदण्डको व्यवस्था छ । सन् २०२२ को तथ्याङ्कअनुसार चीनले सबैभन्दा बढी मृत्युदण्ड दिएको छ भने इरान, साउदी अरेबिया, इजिप्ट र अमेरिका पछि यसमा सामेल रहेका छन् ।
साउदी इरान जस्ता देशमा फाँसी दिने मात्र नभई सार्वजनिक रूपमा पनि झुण्ड्याउने व्यवस्था छ । धेरै मानव अधिकार समूहहरूले मृत्युदण्डको कानुनको विरोध गर्दै आएका छन् र देशहरूलाई मृत्युदण्डको सजाय हटाउन माग गर्दै आएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया