विश्व

असदको पतन रुसका लागि ‘पराजय’ होइन– पुटिन

इकागज |
पुस ४, २०८१ बिहीबार १८:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल–असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य हासिल गरेको दाबी गरेका छन् । 

दमन र व्यापक मानव अधिकार उल्लङ्घन तथा गृहयुद्धका आरोपहरूले चिनिएको असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्य गर्दै विद्रोहीहरूको आकस्मिक अग्रगति गरेपछि असद यस महिनाको सुरुमा मस्को भागेका थिए । 


लोकतन्त्रको विरोधमा उनको दमनले गृहयुद्ध निम्त्याएको १३ वर्षभन्दा बढी समयपछि उनको प्रस्थान भएको हो । 

रुस असदको प्रमुख समर्थक थियो र २०१५ मा उनको मद्दतमा आएर द्वन्द्वको दिशा नै परिवर्तन गरिदिएको थियो ।

“सिरियामा जे भइरहेको छ त्यसलाई तपाईँ रुसको पराजयका रूपमा प्रस्तुत गर्न चाहनुहुन्छ”, पुटिनले वर्षको अन्त्यमा आफ्नो वार्षिक पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारको प्रश्नको जवाफमा भने, “म तपाईंलाई आश्वस्त पार्छु यो त्यस्तो होइन, हामी १० वर्षअघि सिरियामा आएका थियौँ ताकि त्यहाँ अफगानिस्तान जस्तै आतङ्कवादी गढ बन्न नपाओस् । समग्रमा, हामीले आफ्नो लक्ष्य हासिल गरेका छौँ ।”

उनले मस्कोमा असदसँग भेट्न बाँकी रहेको तर चाँडै भेट्ने योजना बनाएको बताए ।  “मस्को आइपुगेपछि मैले राष्ट्रपति असदलाई देखेको छैन तर म निश्चित रूपमा उहाँसँग कुरा गर्नेछु”, उनले भने । 

असदको पतनपछि पुटिनले पहिलो पटक सार्वजनिक रूपमा सिरियाको स्थितिबारे बोलेका हुन् ।


Author

थप समाचार
x