विश्व

क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त

इकागज |
पुस २७, २०८१ शनिबार ९:३८ बजे

क्यालिफोर्निया- अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ । 

यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।


विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ  ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीबाट करिब १० हजार भवन जलेर नष्ट भएका छन् भने ३० हजार घरमा क्षति पुगेको छ । झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ ।

स्थानिय प्रशासनले सो क्षेत्रका ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइसकेको छ । शनिबारसम्म आगलागी थप फैलिने चेतावनी प्रशासनले दिएको छ । १ लाख मानिस बिजुलीविहीन बाँचिरहेका छन् ।

लस एन्जलस काउन्टी सेरिफ रोबर्ट लुनाले त्यहाँको अवस्थाका बारेमा भने, ‘यी क्षेत्रहरूमा परमाणु बम खसालेको जस्तो देखिन्छ।’

धेरै ठाउँमा पानीका हाईड्रेन्ट सुकिसकेका छन् । त्यसैले कतिपय ठाउँमा धाराको पानी प्रयोग गर्न निषेध गरिएको छ । फोहोर पानीका कारण स्थानियको स्वास्थ्य स्थिति बिग्रिएको प्रशासनको आशंका छ । उनीहरूले स्थानियलाई पानी उमालेर पिउने भनेका छन ।

हालसम्म सो आगलागीले पेरिस हिल्टन, टम ह्यान्क्स, स्टिभन स्पिलबर्गजस्ता हलिउड सेलिब्रेटीहरूको घर जलेका छन भने उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गरिएको छ ।

सोही क्रममा राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम बिदेश भ्रमणको रूपमा तय गरिएको इटाली भ्रमण अन्तिम समयमा रद्द गरेका थिए ।


Author

थप समाचार
x