अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये एक सय मजदुरको मृत्यु
अफ्रिका - दक्षिण अफ्रिकाको सुन खानीमा फसेका एक सय भन्दा बढी कामदारको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि चार सय भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गर्ने क्रममा थुनिन पुगेका हुन् ।
ठूलो संख्यामा खानी मजदुरको मृत्यु भएको बाहिरिए पछि राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ । समाचार अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको जनाइएको छ । हालसम्म १३ जनाको शव निकालिएको छ । खासमा उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो भेटिएको थियो। यी भिडियोमा दर्जनौं शव पोलिथिनमा बेरिएको देखाइएको छ ।
खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत नोभेम्बर देखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो । प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो । यसका लागि मजदुरलाई बाहिर आउन आग्रह गरिएको पनि थियो तर पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन नै मानेनन् । त्यसयता ती मजदुरहरू लामो समय देखी खानीमा नै फस्न पुगेका थिए ।
मजदुरहरूले अस्वीकार गरेपछि प्रहरीले खानी भित्र पस्न र निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ । त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए ।
दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ । यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । फसेका मजदुरलाई बाहिर निकाल्नका लागि कम्तीमा १६ दिन लाग्ने आंकलन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया