सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
फाइल फाेटाे
काठमाडौं - अत्यधिक प्रतिकुल मौसमका कारण गत वर्ष ८५ देशका करिब २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी निकाय (युनिसेफ)ले बिहीबार जनाएको छ ।
युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसलले बालबालिकाहरू अत्यधिक प्रतिकुल मौसमको चपेटामा पर्ने चेतावनीमध्ये गर्मीको लहरले सबैभन्दा बढी प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ ।
उनले एक विज्ञप्ति जारी गरी भनिन्, “बालबालिकाहरू तातोका कारण छिटो प्रभावित हुन्छन्, उनीहरूको कम पसिना बग्छ र वयस्कहरूको तुलनामा बिस्तारै चिसो हुन्छन् र तातो मौसमबाट प्रभावित हुन्छन् ।”
उनले अगाडि भनिन्, “बच्चाहरू चर्को गर्मीबाट कुनै राहत नदिने कक्षाकोठामा अध्ध्यनमा ध्यान केन्द्रित गर्न सक्दैनन्, बाढी वा चिसोमा पनि उनीहरूले विद्यालय उपस्थित हुन असमर्थ हुन्छन् ।”
दशकौंसम्म जीवाश्म ईन्धनको अनियन्त्रित जलनलगायत मानव गतिविधिले पृथ्वीलाई न्यानो बनाएको छ र मौसमको ढाँचापरिवर्तन गरेको छ।
सन् २०२४ मा विश्वको औसत तापक्रम उच्च विन्दुमा पुगेको छ र पछिल्ला केही वर्षहरूमा यसले अस्थायी रूपमा पहिलो पटक १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमा पार गरेको छ ।
यसले गर्दा चिसोमा बढी चिसो र सुख्खा याम बढी सुख्खा भएको छ, गर्मी र आँधीबेहरी तीव्र भएको छ र जनसङ्ख्यालाई विपत्तिको चपेटामा पारेको छ।
युनिसेफको प्रतिवेदनमा २४ करोड २० लाखको आँकडा ‘परम्परागत विधिबाट गरिएको अनुमान’ भएको उल्लेख गरिएको छ ।
किन्डरगार्टनदेखि हाई स्कूलसम्मका विद्यार्थीहरूले जलवायुको झट्काका कारण वर्षभरि नै कक्षाहरू अनुपस्थित भएका, बिदाहरू थपिएको, विदालय पुनः खोल्न ढिलाइ भएको, समय तालिकाहरू परिवर्तन भएको र विद्यालयहरू समेत क्षतिग्रस्त वा नष्ट भएको उपलब्ध तथ्यांकले देखाएको छ।
बङ्गलादेश, कम्बोडिया, भारत, थाइल्याण्ड र फिलिपिन्समा तापक्रम बढेसँगै अप्रिलमहिनामा मात्रै ११ करोड ८० लाख बालबालिका गर्मीबाट प्रभावित भएका थिए ।
फिलिपिन्समा विशेष गरी हजारौं गैर–वातानुकूलित विद्यालयहरूमा बच्चाहरू हाइपरथर्मियाको जोखिममा भएका कारण विदालय बन्द गरिएको थियो ।
तापमानको साथ जोखिममा वृद्धि
धेरै देशहरूमा विद्यालयमा नयाँ सत्र सुरू हुने सेप्टेम्बरमा धेरै देशमा पठनपाठन प्रभावित भएको थियो।
विशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रमा आएको विनाशकारी आँधी यागीका कारण १८ वटा देशमा पठनपाठन बन्द गरिएको थियो ।
दक्षिण एसिया जलवायुसँग सम्बन्धित विद्यालय अवरोधबाट सबैभन्दा बढी प्रभावित क्षेत्र थियो, जहाँ १२ करोड ८० लाख विद्यालयका बालबालिका प्रभावित भएका थिए।
गत बर्ष भारतमा सबैभन्दा बढी पाँच करोड ४० लाख बालबालिका गर्मीका कारण प्रभावित भएका थिए । बंगलादेशमा पनि तीन करोड ५० लाख मानिस गर्मी वा मौसमजन्उ विपत्तिबाट प्रभावित भएका थिए ।
विश्वका आधा भन्दा बढी बालबालिका (करिब एक अर्ब) जलवायु र वातावरणीय झट्काको उच्च जोखिममा रहेका देशहरूमा बसोबास गरिरहेकाले आगामी वर्षहरूमा यो आँकडा बढ्ने सम्भावना रहेको छ ।
यदि हरितगृह ग्याँसको उत्सर्जन अहिलेकै गतिमा जारी रह्यो भने सन् २००० को तुलनामा सन् २०५० मा आठ गुणा बढी बालबालिका गर्मीको लहरको चपेटामा पर्ने युनिसेफको अनुमान छ ।
अनुमानअनुसार तीन गुणाभन्दा बढी मानिस भीषण बाढीको चपेटामा पर्नेछन् भने १.७ गुणा बढी डढेलोको चपेटामा पर्नेछन् । युनिसेफले यस क्षतिले केही बालबालिका र यसमा पनि विशेषगरी बालिकाले विद्यालय छोड्ने जोखिम बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
विश्वका करिब दुई तिहाइ बालबालिकाले १० वर्षको उमेरसम्म बुझ्नै नसक्ने गरी पढ्न नसक्ने भएकाले जलवायु संकटले यो वास्तविकतालाई अझ विकराल बनाइरहेको छ।
रसेलका अनुसार जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हुने सेवामध्ये शिक्षा पनि एक हो ।
“तैपनि नीतिगत छलफलहरूमा यसलाई बेवास्ता गरिन्छ,” उनले चेतावनी दिइन् ।
उनले भनिन्, “बालबालिकाको भविष्य जलवायुसँग सम्बन्धित सबै योजना र कार्यहरूमा अग्रपंक्तिमा हुनुपर्दछ।”
युनिसेफले जलवायु जोखिमप्रतिरोधी कक्षाकोठामा लगानी गर्न पनि आह्वान गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया