विश्व

गाजाका बन्धकहरूको रिहाइमा थाई प्रधानमन्त्री ‘हर्षित’

इकागज |
माघ १८, २०८१ शुक्रबार ७:१४ बजे

बैङ्कक- थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावत्राले बिहीबार गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका पाँच थाई नागरिकको रिहाइमा ‘हर्षित’ भएको बताउनुभएको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गर्दा थाईहरूलाई अपहरण गरिएको थियो र गाजा युद्धविराम अन्तर्गत बन्धक–कैदी आदानप्रदानको भागका रूपमा रिहा गरिएको थियो ।


इजरायली प्रधानमन्त्रीको कार्यालयले रिहा गरिएका पाँच थाईको नाम वाचारा श्रीउन, पोङ्गसाक तन्ना, साथियान सुवान्नाखम, सुरासक लामनाउ र बन्नावत सेथाओ भएको बताएको छ ।

“इजरायलस्थित हाम्रा थाई राजदूतले भर्खरै फोनमार्फत पाँचजना थाई नागरिक आज गाजाबाट रिहा भएको पुष्टि गर्नुभएकोमा म हर्षित छु”, पेटोङटार्नले आफ्ना विभिन्न आधिकारिक सामाजिक सञ्जाल खाताहरूमा अङ्ग्रेजीमा प्रकाशित विज्ञप्तिमा भन्नुभयो, “थाई सरकार र थाइल्यान्डका सबैजना यो क्षणको लामो समयदेखि प्रतीक्षामा थियौँ ।”

उनले बन्धकहरूको रिहाइका लागि कतार, इजिप्ट, इरान, टर्की र संयुक्त राज्य अमेरिकाले गरेको कामको ‘गहिरो सराहना’ गर्दै इजरायललाई उनीहरूको हेरचाह गरेकामा धन्यवाद दिए ।

छुट्टै विज्ञप्तिमा थाई विदेश मन्त्रालयले पाँच जनालाई उपचारका लागि अस्पताल लगिने बताएको छ ।

“थाइल्यान्डले थाई नागरिकसहित सबै बाँकी बन्धकलाई चाँडै रिहा गर्न आह्वान गर्दछ, ताकि तिनीहरू सुरक्षित रूपमा आफ्नो मातृभूमि र आफ्ना प्रिय परिवारहरूमा फर्कन सकून्”, मन्त्रालयले भन्यो ।

हमासले इजरायलमाथि आक्रमण गर्दा कुल ३१ थाई नागरिक बन्धक बनाइएका थिए । तीमध्ये २३ जना सन् २०२३ को अन्त्यसम्ममा रिहा भएका थिए र गत मे महिनामा दुईजनाको मृत्यु भएको पुष्टि भएको थियो ।

थाइल्यान्डका करिब ३० हजार नागरिक इजरायलमा छन् । तीमध्ये धेरैजसो कृषि क्षेत्रमा काम गर्छन् । त्यहाँ उनीहरूले आफ्नो देशमा भन्दा उल्लेखनीय रूपमा बढी तलब कृषि श्रमिकका रूपमा कमाउँछन् । (एएफपी)


Author

थप समाचार
x