विश्व

विश्‍वकप आयोजनाले मानवअधिकारको रक्षा र प्रवर्द्धन हुनेमा कतार ढुक्क

इकागज |
असार २५, २०७८ शुक्रबार १४:४९ बजे

काठमाडौँ -  कतारले सन् २०२२ को विश्‍वकप आयोजना गर्दैछ । खाडीले पहिलो पटक विश्‍वकप आयोजनाको मौका पाउँदा कतार आयोजक बनेको हो । विश्‍वकप आयोजनाले कतारसहितका मुलुकमा मानवअधिकार र खेलकुदको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा उसले गरेको छ ।

कतारसहित खाडी क्षेत्रमा मानवअधिकारको अवस्था खराब रहेको पश्चिमाहरू दाबी गर्छन् । विशेषगरी आप्रवासी कामदारको मानवअधिकारको ग्यारेन्टी नभएको कयौँ रिपोर्टहरूले देखाएका छन् । यस्तोमा विश्‍वकप खेलाइने रंगशाला निर्माणमा संलग्‍न दक्षिण एसियाली कामदारहरूको अवस्था झनै खराब रहेको पश्‍चिमा सञ्‍चार माध्यमहरूको रिपोर्टमा उल्लेख हुँदै आएको छ ।


यस विषयमा कतार आफू सचेत रहेको बारम्बार बताउँदै आएको छ । कतारले हालै पनि मानवअधिकारप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि कतारी प्रतिनिधि अबदुल्लाह हमाद अल नुआइमीले पूर्वाधार निर्माणमा खटिएका आप्रवासी  कामदारहरूको मानवधिकार रक्षाका लागि आफूहरूले आवश्यक कदम चालेको बताए ।

‘रंगशाला लगायतका पूर्वाधार निर्माणमा संलग्‍न सबै आप्रवासी कामदारहरूको मानवअधिकार रक्षामा कतार सचेत छ । हाम्रो प्रयासको चौतर्फी प्रशंसा पनि भएको छ,’ संयुक्त राष्ट्रसंघमा भएको मानवअधिकार प्रवर्द्धनमा खेलकुदको भूमिका विषयक छलफलमा नुआइमीले भनेका छन् । 

विश्‍वकप, ओलम्पिक, पारा ओलम्पिक, एथ्लेटिक्स च्याम्पियनसिप जस्ता प्रतियोगिता आयोजना गर्ने आयोजक मुलुकहरूलाई आर्थिक तथा सामाजिक हिसाबले फाइदा पुग्ने गरेको उल्लेख गर्दै नुआइमीले भनेका छन्, ‘खेलुकद विश्वका सबैले बुझ्‍ने भाषा हो ।'

यसले मानवअधिकार रक्षा र प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्नसक्छ । खेलकुदले सबै मानिस बराबर हुन् भन्ने सन्देश पनि दिन्छ । त्यही कारण कतार खेलकुद गतिविधिमा सक्रिय रहँदै र ठूला प्रतियोगिता आयोजना गर्न अघि बढिरहेको छ,’ नुआइमीले भने ।


Author

थप समाचार
x