विश्व

वेस्ट बैंकमा आक्रमण हुँदा ५० जना प्यालेस्टाइनी लडाकूको मृत्यु

इकागज |
माघ २१, २०८१ सोमबार १९:२४ बजे

फाइल फाेटाे

गाजा - इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पन्ध्र दिन अघि उत्तरी वेस्ट बैंकमा सुरू गरिएको आक्रमणमा हालसम्म ५० प्यालेस्टाइनी लडाकू मारिएको दाबी गरेको छ ।

जेनिन, तुल्करेम र तामुन क्षेत्रमा कारबाहीका क्रममा ३५ लडाकु मारिएको आइडीएफले जनाएको छ भने अन्य १५ जना ड्रोन आक्रमणमा मारिएका छन् । आइडीएफले यी कारबाहीका क्रममा सर्वसाधारणलाई निशाना बनाएको पनि स्वीकार गरेको छ ।


आईडीएफले हाल १०० प्यालेस्टाइनी लडाकूलाई नियन्त्रणमा लिएको र ४० भन्दा बढी हतियार बरामद गरेको छ । ‘अपरेसन आइरन वाल’ को क्रममा ८० भन्दा बढी विस्फोटक पदार्थलाई पनि निष्क्रिय पारिएको आइडीएफले जनाएको छ ।

अपरेसन २१ जनवरीमा सुरु गरिएको थियो । सेनाले उक्त अपरेसन आगामी केही हप्तासम्म जारी रहने जनाएको छ । आइडीएफले जेनिन शरणार्थी शिविरका २३ वटा भवन ध्वस्त पारेको छ, जसलाई लडाकूहरूले आफ्नो कार्यका लागि प्रयोग गरेका थिए ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गरे । 

“युद्धमा हामीले गरेका निर्णयहरूले मध्यपूर्वको अनुहार बदलिसकेको छ । म डोनाल्ड ट्रम्पसँग एक धेरै महत्त्वपूर्ण बैठकको लागि वाशिङ्गटन जाँदैछु । राष्ट्रपति ट्रम्पले आफ्नो पदभार ग्रहण गरेपछि कुनै विदेशी नेतासँग यो पहिलो भेट हुनेछ । मलाई लाग्छ कि यो इजरायल–अमेरिकी गठबन्धनको लागि ठूलो क्षण हुनेछ ।”
 


Author

थप समाचार
x