विश्व

बैंक अफ जापानका बोर्ड सदस्य नाओकी तामुराले राखे १ प्रतिशतसम्म ब्याज बढाउनुपर्ने प्रस्ताव

इकागज |
माघ २४, २०८१ बिहीबार १५:३५ बजे

काठमाडौँ- बैंक अफ जापानका बोर्ड सदस्य नाओकी तामुराद्वारा नीतिगत ब्याज दरलाई कम्तीमा १ प्रतिशतसम्म बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।​ हालैको सम्बोधनमा सन् २०२५ को आर्थिक वर्षको दोस्रो भागसम्म उनले नीतिगत ब्याज दरलाई कम्तीमा १ प्रतिशतसम्म बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनका अनुसार, कच्चा पदार्थ र श्रम लागतमा भइरहेको वृद्धिले मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ, जसलाई नियन्त्रण गर्न ब्याज दरलाई अर्थतन्त्रको तटस्थ स्तरमा पुर्‍याउन आवश्यक छ।


तामुराले जापानको तटस्थ ब्याज दर कम्तीमा १ प्रतिशत रहेको उल्लेख गर्दै, यदि छोटो अवधिको ब्याज दर तटस्थ स्तरभन्दा तल रह्यो भने मुद्रास्फीतिमा थप वृद्धि हुन सक्ने चेतावनी दिएका छन्। उनको यस भनाइपछि विदेशी मुद्रा बजारमा अमेरिकी डलरको तुलनामा येनको मूल्यमा वृद्धि भएको थियो।

त्यसैगरी, दुई वर्षे जापानी सरकारी बन्डको प्रतिफल २००८ यताकै उच्च स्तरमा पुगेको छ। तामुराले ब्याज दर वृद्धिको समय निर्धारण गर्दा जापानी जनतामा पर्ने प्रभावलाई ध्यानमा राख्दै सावधानीपूर्वक निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।

बैंक अफ जापानले गत महिना ब्याज दरलाई ०.५ प्रतिशतमा पुर्‍याएको थियो र आगामी दिनमा थप वृद्धिको सम्भावनालाई मूल्याङ्कन गरिरहेको छ।  तामुराका अनुसार, मुद्रास्फीति अपेक्षाहरूले पहिले नै २ प्रतिशत को लक्ष्य हासिल गरिसकेको हुनसक्छ। तर, उनले ब्याज दर वृद्धिको समय निर्धारण गर्दा कुनै पूर्वधारणा बिना सावधानीपूर्वक निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भनेका छन्, “अहिलेको समयमा, बैंकले मौद्रिक सहजताको एक्सिलेटरबाट थोरै खुट्टा हटाएर, आवश्यक पर्दा गतिको नियन्त्रण गर्न र कडा ब्रेक लगाउनबाट जोगिनुपर्छ।”

 बैंक अफ जापानका गभर्नर काजुओ उएदाले पनि निरन्तर तलब वृद्धिले उपभोगलाई समर्थन गर्ने हो भने ब्याज दरलाई थप बढाउन तयार रहेको संकेत दिएका छन्। तर, उनले जापानको तटस्थ ब्याज दरको सटीक स्तरबारे कुनै टिप्पणी गरेका छैनन्।

 तामुराका यी भनाइहरूले बैंक अफ जापानले पूर्व गभर्नर हारुहिको कुरोडाको समयमा अपनाएको अत्यधिक प्रोत्साहन नीतिबाट क्रमशः बाहिर निस्कने संकेत गर्दछ।

उनले बैंकको विशाल प्रोत्साहनको समग्र प्रभाव सकारात्मक भएको बताइए पनि, भविष्यमा यसले येनको अत्यधिक अवमूल्यन जस्ता नकारात्मक प्रभावहरू निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् ।


Author

थप समाचार
x