सन् २०२४ मा रुसमा १०७५ जनालाई आतङ्कवादी अभियोगमा सजाय : पुटिन
फाइल तस्बिर
मस्को- राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेन आक्रमणका क्रममा भएको व्यापक अभियोजनको सिलसिलामा गत वर्ष रुसी सैन्य अदालतहरूले एक हजारभन्दा बढी व्यक्तिलाई आतङ्कवादी आरोपमा सजाय सुनाएको बताएका छन् ।
रुसका गोप्य सैन्य अदालतहरूले पक्राउ परेका युक्रेनी सैनिकहरू, किएभसँग काम गरेको वा मस्कोको सेनालाई तोडफोड गरेको आरोप लागेका रुसीहरू, क्रेमलिनका घरेलु विरोधीहरू र कथित कट्टरपन्थी र आतङ्कवादी समूहहरूमाथि मुद्दा चलाउँछन् ।
“आतङ्कवादी प्रकृतिका फौजदारी मुद्दाहरूको फैसला गर्न सैन्य अदालतहरूको महत्त्वपूर्ण भूमिका छ”, रुसका शीर्ष न्यायाधीशहरूलाई सम्बोधन गर्दै पुटिनले भने, “गत वर्ष करिब नौ सय ५० यस्ता मुद्दाहरू हेरिएका थिए र एक हजार ७५ जनालाई सजाय दिइएको थियो ।”
रुसले नियमित रूपमा युक्रेन आक्रमणको विरोध गर्नेहरूका साथै पक्राउ परेका युक्रेनी सैनिकहरूलाई राजद्रोह र आतङ्कवादी आरोपमा सजाय दिने गर्छ ।
जेनेभा महासन्धिले युद्धबन्दीहरू (पिओडब्लु) लाई सशस्त्र कारबाहीमा भाग लिएको आरोपमा अभियोजन गर्न निषेध गर्छ ।
मस्कोले सन् २०२४ मार्चमा मस्को कन्सर्ट हलमा भएको नरसंहारपछि कथित जिहादी कक्षहरूलाई पनि लक्षित गरेको छ । इस्लामिक स्टेटले दावी गरेको उक्त आक्रमणमा एक सय ४५ जनाको मृत्यु भएको थियो ।
घरेलु दमन सोभियत युगदेखि नै नदेखिएको स्तरको छ ।
ओभिडी–इन्फो अधिकार समूहले हाल रूसी जेलमा ‘राजनीतिक कारण’ का लागि एक हजार चार सय जनालाई पहिचान गरेको छ भने अभियोजकहरूले अन्य कुनै पनि आरोपभन्दा बढी ‘आतङ्कवाद’ को आरोप प्रयोग गरेका छन् ।
यस्ता मुद्दाहरू सैन्य र नागरिक दुवै अदालतमा सुनुवाइ गरिन्छ । प्रायः बन्द इजलासमा, जसले दमनको वास्तविक मात्रा पत्ता लगाउन कठिन बनाउँछ ।
बिहीबार पुटिनले रुसी न्यायाधीशहरूको ‘समर्पण’ को प्रशंसा गरे ।
उहाँले रुसले पूर्वी युक्रेनको कब्जामा रहेका भागहरूमा एक सय अदालत सिर्जना गरेको र पाँच सय ७० न्यायाधीश नियुक्त गरेको पनि बताए । त्यहाँ मस्कोले अज्ञात सङ्ख्यामा युक्रेनीहरूलाई सैन्य आक्रमणको विरोध गरेको आरोपमा जेल हालेको छ ।
“तिनीहरू संयुक्त रूसी न्यायिक प्रणालीमा पूर्ण रूपमा एकीकृत छन्”, रुसको सर्वोच्च अदालतकी प्रमुख इरिना पोड्नोसोभाले पुटिनलाई भने ।
उनले युक्रेन अभियानका क्रममा सैन्य अदालतमा समग्र मुद्दाहरूमा तीव्र वृद्धि भएको बताए ।
सन् २०२२ मा रुसले कब्जा गरेको चार युक्रेनी क्षेत्रहरू–डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझ्जियामा रुसले स्थापना गरेको अदालतले युक्रेनीहरूलाई सजाय सुनाएको बारेमा थोरै मात्र थाहा छ ।
रुसी अदालतहरू न्यून सफाइ दरका लागि चिनिन्छन् । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया