विश्व

बुवाआमालाई अमेरिकाले निकाल्ने भन्दै साथीहरूले जिस्काएपछि ११ वर्षीया बालिकाले गरिन् आत्महत्या

इकागज |
फागुन ९, २०८१ शुक्रबार १४:७ बजे

टेक्सास- अमेरिकाको टेक्सासमा ११ वर्षीया बालिकाले आत्महत्या गरेको एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।

परिवारको अध्यागमन अवस्थाका कारण विद्यालयमा उनलाई लगातार जिस्काउने गरेको र स्कूलमा उनका सहपाठीहरूले उनलाई उनका आमाबुवालाई अमेरिकाबाट निकालिने र एक्लै छाड्‌ने धम्की दिएपछि प्रताणित भएर आत्महत्या गरेको खुलेको हो ।


यही मानसिक तनाव र डरका कारण ११ वर्षीया बालिकाले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार टेक्सास निवासी जोस्लिन रोजो कारान्जा नामकी छात्राले विद्यालयमा लगातार दुर्व्यवहारको शिकार भएकी थिइन् । उनको परिवारको अध्यागमन स्थितिका कारण उनको विद्यालयका केही विद्यार्थीहरूले उनलाई उत्पीडन गरेको आरोप छ । छोराछोरीले उनलाई आमाबुवालाई साङ्लोमा बाँधेर देश बाहिर पठाइदिने र एक्लै छाड्‌ने भन्ने डर देखाइने गरिएको थियो । यही मानसिक यातनाको शिकार बनेर जोस्लिनले ८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् ।

जोस्लिनकी आमा मार्बेला कारान्जाले आफ्नी छोरीमाथिको यातनाबारे आफूलाई पुर्व कुनै जानकारी नभएको बताइन् । उनले भनिन् ‘मेरी छोरीले आफू यति तनावमा छिन् भन्ने कुनै संकेत कहिल्यै दिइनन् । मलाई कहिल्यै थाहा थिएन कि उसलाई स्कूलमा दुर्व्यवहार गरिएको थियो । यस विषयमा छानबिन सुरु भएपछि मात्र जोस्लिनले विद्यालयमा छोरीमाथि निरन्तर दुर्व्यवहार भइरहेको खुलेको थियो । तर, विद्यालय प्रशासनले उनीहरूलाई यसबारे कुनै जानकारी परिवारलाई दिइएन् ।

अहिले जोस्लिनले आत्महत्या गरेपछि विद्यालय प्रशासन नै शंकाको घेरामा परेको छ । विद्यालयलाई यसबारे जानकारी भएपनि कुनै कारबाही नगरेको उनकी आमाको आरोप छ । गेनेसभिल इन्डिपेन्डेन्ट स्कुलमाथि जिल्ला प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । विद्यालय प्रशासनले दुर्व्यवहारका घटनालाई नजिकबाट नियाल्ने र त्यस्ता गुनासोहरूलाई गम्भीरताका साथ लिने बताए पनि जोस्लिनको मुद्दामा कुनै ठोस वक्तव्य जारी नगरिएको उल्लेख गरिएको छ ।

जोस्लिनको अन्त्येष्टि बुधबार मात्रै भएको थियो, जसमा सयौं मानिसहरूको सहभागीता रहेको थियो। यही क्रममा उनकी साथी रूबेलाले भनिन्- ‘हामीसँगै रुख चढ्ने गर्दथ्यौं, हाँस्ने गर्दथ्यौं र हाम्रा हरेक साना–ठूला कुरा सेयर गर्थ्यौं । उनी एकदमै असल साथी थिइन् ।’ 

जोस्लिनको मृत्युले अमेरिकामा बाल बालिकामाथि हुने दुर्व्यवहार र आप्रवासी परिवारमाथि हुने भेदभावको गम्भीरतालाई उजागर गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यो घटनापछि धेरै संघ संस्थाले विद्यालयमा हुने दुर्व्यवहार रोक्न थप कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् । 

साथै आप्रवासी परिवारका बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नका लागि कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ । जोस्लिनको परिवारले मृतकको न्यायका लागि माग गर्ने बताएका छन् ताकि अन्य निर्दोष व्यक्तिको जीवन यसरी समाप्त नहोस् ।
 


Author

थप समाचार
x