विश्व

युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव

इकागज |
फागुन २२, २०८१ बिहीबार ७:१५ बजे

मस्को- बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बुधबार प्रकाशित एक अन्तर्वार्तामा अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्ने प्रस्ताव गरेका छन् ।

“(अमेरिकी राष्ट्रपति डोनाल्ड) ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु”, लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राखेका थिए ।


लुकासेन्को पुटिनका निकट सहयोगी हुनुहुन्छ र उहाँको देश युक्रेनमा रुसको सैन्य कारबाहीलाई समर्थन गरेको र विपक्षीहरू विरुद्धको सरकारी कारबाहीलाई लिएर अमेरिका र युरोपीय सङ्घ (इयु) को प्रतिबन्धमा छ । रुसले सन् २०२२ मा युक्रेनमा केही सेना पठाउन बेलारुसको क्षेत्र प्रयोग गरेको थियो ।

तर ७० वर्षीय राष्ट्रपतिले भने, “यदि तपाईं सहमति गर्न चाहनुहुन्छ भने हामी बस्नेछौँ र शान्त रूपमा सहमति गर्नेछौँ ।”

युक्रेनी समाजको ठूलो हिस्सा जेलेन्स्कीसँग रहेको भन्दै लुकासेन्कोले जेलेन्स्कीसँग सहमति हुनुपर्ने बताए । “बेलारुस सीमा र किभबीच केवल दुई सय किलोमिटरको दूरी छ । विमानमा आधा घण्टामा । आउनुहोस्”, उनले फेब्रुअरी २७ मा रेकर्ड गरिएको अन्तर्वार्तामा घोषणा गरे ।

लुकासेन्कोले रूससँग वार्ता गर्न र तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ट्रम्पका प्रयासहरूको प्रशंसा गरे ।

“ट्रम्प असल व्यक्ति हुनुहुन्छ, उहाँ यसबारे धेरै कुरा गर्नुहुन्छ र युक्रेनको युद्ध र मध्यपूर्वमा युद्ध अन्त्य गर्न पहिलेनै केही गरिसक्नुभएको छ”, उनले भने, “मलाई लाग्छ उहाँको एकमात्र नीति युद्ध अन्त्य गर्ने हो । यो एउटा उत्कृष्ट विचार हो ।”

अन्तर्वार्ता प्रकाशित भएको दिन ट्रम्पले मङ्गलबार जेलेन्स्की रूससँग ‘स्थायी शान्ति’ का लागि वार्ता गर्न तयार रहेको बताएका थिए ।

ट्रम्पको वासिङ्टनमा जेलेन्स्कीसँग शुक्रबार भएको भेट एक रोषपूर्ण भेटघाटमा परिवर्तन भयो र ट्रम्पले युक्रेनलाई सैन्य सहायता निलम्बन गर्ने आदेश दिएपछि जेलेन्स्कीमाथि दबाब बढ्यो ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा उक्त भेट ‘खेदजनक’ भएको र उनी अमेरिकी नेतासँग ‘कुरा ठिक गर्न’ चाहेको पोस्ट गरेका छन् । (एएफपी)


Author

थप समाचार
x