सुनिता र ब्यारीको पृथ्वी फिर्ती अझै अन्योलमा, नासाको मिसन फेरी रोकियो

काठमाडौँ । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको छ ।
प्राविधिक गडबडी पछि नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेपछि उनीहरु पृथ्वीमा फर्किने समय अझै अनिश्चित भएको हो । नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने तय भएको क्रू-१० मिसन फाल्कन ९ रकेटमा रहेको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीको समस्याका कारण रद्द गरिएको नासाले जनाएको छ ।
नासाले अन्तरिक्ष यात्री एनी म्याक्लेन र निकोल आयर्स, जापानी अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री ताकुया ओनिशी र रोस्कोसमोस अन्तरिक्ष यात्री किरिल पेस्कोभ स्पेसएक्सको ड्र्यागन क्रू क्याप्सुलबाट बाहिर निस्किएको जानकारी दिदै अर्को प्रक्षेपण मार्च १३ मा साँझ ७:२६ बजे पछि हुने जनाएको छ । नासाले यसको समीक्षा गरिरहेको जनाएको छ ।
मार्च १३ मा क्रू-१० प्रक्षेपण पछि, अन्तरिक्ष यात्री निक हेग, सुनिता विलियम्स र बुच विल्मोरका साथै रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभको क्रू-९ मिसन मार्च १७, सोमबार बिहान ९:०५ बजे इएसटी भन्दा पहिले अन्तरिक्ष स्टेशनबाट प्रस्थान गर्ने नासाले जनाएको छ ।
क्रू-१० स्पेसएक्सको मानव अन्तरिक्ष यातायात प्रणालीको १०औं क्रू रोटेशन मिसन हो । यो नासाको कमर्सियल क्रू कार्यक्रम अन्तर्गत अन्तरिक्ष स्टेशनमा यसको ११औं क्रू उडान हो, जसमा डेमो-२ परीक्षण उडान पनि समावेश छ ।
सुनिता र ब्यारी कसरी रोकिए आइएसएसमा ?
सुनिता र ब्यारीजुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । उनीहरु आठ दिन पछि फर्किने तालिका रहेको थियो । स्टारलाइनर अन्तरिक्ष यान आईएसएस नजिक पुग्दा, यसमा समस्या आयो र अन्तरिक्ष यानलाई मार्गदर्शन गर्ने यसका पाँच थ्रस्टरहरूले काम गर्न छोडे । त्यसमा भएको हेलियम पनि सकियो । यसका कारण, अन्तरिक्ष यान जल्ने इन्धनमा निर्भर हुनुपर्यो र दुवै अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलाइ भयो ।
६१ वर्षीया विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्षयानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगिएको थियो । यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो । यो नियमित प्रयोगमा ल्याउनु अघि नयाँ अन्तरिक्षयानले कस्तो प्रदर्शन गर्छ भनेर हेर्नको लागि गरिएको परीक्षण थियो । तर, यो अगाडि बढ्दै जाँदा, केही समस्याहरू उत्पन्न हुन थाले । यसको प्रोपल्सन प्रणालीमा चुहावट भयो र केही थ्रस्टरहरू पनि बन्द हुन थाले ।
सुनिता विलियम्स नौ महिनाभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छिन् । योसँगै उनी अन्तरिक्षमा सबैभन्दा लामो समयसम्म निरन्तर बस्ने पहिलो महिला बनेकी छिन् । यद्यपि, यो सुनिताको पहिलो रेकर्ड होइन । उनले २२ घण्टा २७ मिनेट अन्तरिक्षमा हिँडेर सबैभन्दा लामो अन्तरिक्ष पैदल यात्रा गर्ने महिलाको रेकर्ड पनि कायम गरेकी छन् ।
यसअघि यो रेकर्ड अन्तरिक्ष यात्री क्याथरिन थोरन्टनको नाममा थियो । उनले २१ घण्टाभन्दा बढी अन्तरिक्ष पैदल यात्राको रेकर्ड राखेकी थिइन् । यो सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा हो । तीनवटै यात्राहरू सहित, उनले अहिलेसम्म नौ पटक स्पेसवाक गरिसकेकी छिन् । यस अवधिमा उनले ६२ घण्टा ६ मिनेट अन्तरिक्षमा स्पेसवाक गरेकी छन् ।
सुनिता विलियम्स एक अवकाशप्राप्त नौसेना हेलिकप्टर पाइलट हुन् भने विल्मोर एक पूर्व लडाकु जेट पाइलट हुन् । उनी यसअघि पनि दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया