विश्व

कोभिड खोपलाई किन अनिवार्य नगर्ने पक्षमा छन् बाइडन ?

इकागज |
मंसिर २१, २०७७ आइतबार ८:२९ बजे

अमेरिकामा राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिड-१९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन् । आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडनले त्यस्तो बताएका हुन् ।

सीडीसीले अमेरिका कोरोनाभाइरसको "उच्च दर रहने समयमा प्रवेश गरेको" बताएको छ । शुक्रवार अमेरिकामा २,५०० सङ्क्रमितको मृत्यु र झन्डै २,२५,००० जनामा सङ्क्रमण पुष्टि भएको छ ।


अहिलेसम्म त्यहाँ १.४३ करोड मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् । त्यस्तै मृत्यु हुनेको कुल सङ्ख्या २,७९,००० छ । जनवरी २० तारिखमा पदभार ग्रहण गर्न लागेका बाइडनले उक्त समारोहमा ठूलो भिड नहुने अपेक्षा गरेको बताएका छन् ।

खोपबारे बाइडनको नीति
क्लिनिकल परीक्षणले आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखाएको बताउने फाइजर र ९४ प्रतिशत प्रभावकारी रहेको बताउने मोडेर्ना दुवैले खोप वितरणका लागि अनुमति माग गर्दै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनमा आवेदन दिएका छन् ।

फाइजरले बनाएको खोपको प्रयोगलाई विश्वमै पहिलो पटक बुधवार यूकेले अनुमति दिएको थियो । शुक्रवार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अबको एक हप्तामा कोभिड-१९ खोपलाई अनुमिति दिने विषयमा टुङ्गोमा पुग्ने बताएका थिए ।

तर राष्ट्रपति-निर्वाचित बाइडनले भने कोरोनाभाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउन आवश्यक नपर्ने टिप्पणी गरेका छन् । पीउ रिसर्च सेन्टरका अनुसार ६० प्रतिशत अमेरिकीहरू मात्रै कोरोनाभाइरसविरुद्ध खोप लिन तयार देखिन्छन् । उक्त सङ्ख्या गत सेप्टेम्बर महिनामा ५१ प्रतिशत थियो ।

बिहीवार सीएनएनसँग बोल्दै बाइडनले खोपबारे व्यक्त गरिएका सम्भावित चिन्ता कम गराउने पहलस्वरूप आफू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका थिए । अमेरिकाका तीन पूर्वराष्ट्रपति बराक ओबामा, जर्ज डब्ल्यू बुश र बिल क्लिन्टनले पनि आफूहरू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका छन् । बाइडनले अमेरिकीहरूलाई १०० दिनसम्म मास्क लगाउन आफ्नो आग्रह दोहोर्‍याएका छन् । (बीबीसी)
 


Author

थप समाचार
x