विश्व

राष्ट्रपति भवनमा रातदेखि वार्ता जारी

अफगानिस्‍तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने तालिबानको तयारी

इकागज |
साउन ३२, २०७८ सोमबार १३:४० बजे

फाइल तस्‍बिर

काबुल - अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरूले कब्जामा लिएका छन् । उनीहरू आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरूले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोडेका थिए ।
 
उनी देश छोडेर कहाँ जानुभएको हो भन्ने विषयमा केही बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन । तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबुक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोष्ट गरेका छन् । 
 
अफगानिस्तानका राजधानीतर्फ तालिवानी विद्रोहीहरूले प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरूपमा तालिबानीहरूलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । 

आइतबार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरूबीच सुरु भएको वार्ता सोमबार बिहानसम्म जारी रहेको बताइएको छ । सो वार्तामा तालिबानीहरूलाई वैधानिकरूपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भए पनि यस विषयमा सरकारकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।


उता तालिबानीहरूले भने अब छिट्टै तालिबानीहरूले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरूले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् । तालिबानहरूले आफ्ना लडाकूहरूलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतबार साँझ नै उनहरू काबुल आएका हुन् ।
     
यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कर्फ्‍यू आदेश जारी गरिएको बताइएको छ ।आइतबारदेखि सोमबार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशहरूले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् । त्यसैगरी अफगानिस्तानका कैयौँ विदेश नागरिक आफैँ पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानहरूले भने कसैसँग बदला नलिने भन्दै आफूहरूसँग नडराउन भनिरहेका छन् । रासस
 


Author

थप समाचार
x