विश्व

ट्रम्पले मागे बाइडनको राजीनामा

इकागज |
साउन ३२, २०७८ सोमबार १३:४८ बजे

वासिङ्टन- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडनको राजीनामा मागेका हुन् ।

अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्‍न र तालिबान लडाकूहरूलाई पराजित गर्न बाइडन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ ।


आइतबार जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्, 'अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडनले राजीनामा दिनुपर्ने बेला आएको छ ।' 

अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडन प्रशासन नै भएको ट्रम्पको आरोप छ । आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन् ।

अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकूहरूले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन् ।

तालिवान विद्रोहीहरू देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन् । देश छाडेपछि उनले थप रक्तपात हुन नदिन र अरु लाखौँको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छोडेको स्पष्ट पारेका हुन् ।  

स्रोतका अनुसार अव तालिबान लडाकूहरूकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नुहुनेछ । तालिवान लडाकूहरूले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन् । उनीहरूले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ । (एएनआई) 


Author

थप समाचार
x