विश्व

काबुल फर्किएको तालिबानले अफगानिस्तानमा सत्ता सञ्‍चालन कसरी गर्ला ?

इकागज |
भदौ १, २०७८ मंगलबार ६:३० बजे

तस्बिरः एपी

काठमाडौँ - तालिबानका लडाकूहरूको एक हुल आइतबार अफगानिस्तानको राष्ट्रिपति कार्यलय प्रवेश गर्‍यो । उनीहरूविना रोकावट राष्ट्रपतिको कार्यकक्ष पुगे । आ–आफ्ना एके–४७ टेबलमा राखे । कतिपय चाहिँ हतियार बाकेरै उभिरहे । क्याप लगाएका र बाक्लो दारी भएका ती लडाकूहरू घानीको कार्यकक्षमा दंग देखिन्थे । 

देश छाडेका अफगानी राष्ट्रपति असरफ घानीको कार्यकक्षमा लडाकूहरूको समूह फोटो खिचाइरहँदा, काबुल विमानस्थलको दृश्य कारुणिक थियो । विमानस्थलको क्षेत्रलाई अमेरिकी मरिनले पहरा दिइरहेका थिए । विदेशी नागरिकहरू अफगानिस्तान छाड्नलाई जहाज चढ्न पालो पर्खिरहेका थिए । विदेशी नागरिकहरूसँगै अफगानिस्तान छाड्न चाहनेमा अफगानी समेत देखिए । उनीहरू अमेरिकी सेनाको जहाजभित्र पस्न प्रयास गरिरहेका थिए ।
 
काबुल विमानस्थलमा व्यापारिक उडान बन्द गरिएपछि अमेरिकी सेनाका जहाज मात्र उड्न पाउने भए । देश छाड्न पाउने आशमा विमानस्थल पुग्ने अफगानीको भिड थामिनसक्नु भएपछि अमेरिकी सेनाले गोली समेत चलायो । लाखौँ अफगानी देश छाड्न संर्घषरत रहँदा राष्ट्रपति घानी भने विना झन्झट विदेश लागे । अफगानिस्तान छाडेपछि उनको सन्देश आयो । जसमा भनिएको थियो, ‘तालिबानले बन्दुक र तरबारको बलमा देश कब्जा गर्‍यो । थप रक्तपात नहोस भन्ने चाहेर म बाहिरिएको हुँ । अब जनधनको रक्षा गर्ने जिम्मेवारी तालिबानको हो,।’ 


घानीले देश छाड्नुको कारण प्रष्ट्याइरहँदा उनका सहकर्मी तथा प्रतिद्वन्द्वीहरू भने आक्रोशित देखिन्थे । ‘उनीहरूले हाम्रो हात पछाडिबाट बाँधेर अफगानिस्तानलाई बिक्री गरिदिए । घानी र उनको समूह सरापको लायक छ,’ घानी सरकारमा निमित्त रक्षा मन्त्री रहेका बिस्मिल्लाह खान मोहम्मदीले ट्वीट गरे । उता लामो समयदेखि घानीका प्रतिद्वन्द्वी रहेका अब्बदुल्लाह अब्बदुल्लाहको भनाइ थियो, ‘भगवानले घानीलाई सजाय दिनेछन्,’ 
काबुल प्रवेश गर्नुअघि र प्रवेश गरिसकेपछि तालिबानले शान्तीपूर्ण तवरमा सत्ता हस्तान्तरणको माग गरिरहेको थियो । तालिबानसँग मिलेर अन्तिरम सरकार बनाउनेबारेमा पनि छलफल चलिरहेको थियो । कतिसम्म भने पूर्व राष्ट्रपति हमिद कारजाईले अन्तरिम सरकारका विषयमा अब्बदुल्लाह र अन्य नेतासँग छलफल चलाउने बताइरहेका थिए । 
  
तर एकाएक माहोल परिवर्तन भयो । काबुल कब्जा गरिसकेपछि तालिबानले अब आफ्नो हुकुम चल्ने सन्देश दियो । सडकमा सरकारी सुरक्षा फौज होइन, तालिबानका लडाकुहरू देखिन थाले । उनीहरूले काबुलको सुरक्षाको जिम्मेवारी लिएको उद्घोष पनि गरे । 

विना रक्तपात केन्द्रीय राजधानीलाई नियन्त्रणमा लिएपछि तालिबानले आफू बाहेकका कोहीसँग परामर्श गर्ने सम्भावना देखिँदैन । तर कारजाईलाई चाहिँ बाइपास गरेर अघि बढ्ने सम्भावना छैन । कारजाई अन्तर्राष्ट्रिय समुदायद्वारा पत्याइएको नेता हुन् । तालिबानलाई के थाहा छ भने, अफगानिस्तानलाई विदेशी सहयोग चाहिन्छ । अनि विदेशी सहयोग कारजाईले मात्रै भित्र्याउन सक्छन् । 

काबुल कयौँ पटक भिडन्तको साक्षी बनेको छ । काबुललाई नियन्त्रणमा लिन धेरै पटक रगत बगेको छ । सन् १९९२ देखि १९९६ सम्म विभिन्न समूह आपसमा लडे, काबुलका निम्ति । करिब २५ हजारले ज्यान गुमाए । रत्तपात मिसिएिको विगत नर्बिसिएका काबुलीले यस पटक चैनको सास फेरे । किनभने विना रक्तपात उनीहरुको सहर कसैको कब्जामा जाँदै थियो ।  

यद्यपि काबुली अन्य विषयमा भने चिन्नित छन् । तालिबानले आफ्नो शैली परिवर्तन गरेको छ भन्नेमा काबुलीको ढुक्क छैनन् । यसअघि सत्तामा हुँदा तलिबानले असाध्यै ज्याजती गरेका थिए । सरिया कानुन तथा पुरानो ढर्राका नियम लादेका थिए । महिला तथा बालिकालाई शिक्षबाट बञ्चित गरिएको थियो । युद्ध नै चलिरहँदा पनि तालिबानले आफ्नो पकडमा रहेका प्रान्तबाट महिलालाई अर्को प्रान्तमा जागिर खान जान प्रतिबन्ध लगाएका थिए । तालिबानले कतिपय स्थानमा अविवाहित किशोरीहरूलाई आफ्ना विवाहित लडाकूहरुसँग विवाह गर्न उर्दी समेत जारी गरे । 

तालिबानले अफगानिस्तानलाई तत्कालै ‘इस्लमिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने बताएका छन् । अमेरिकी हमलामा कारण सन् २००१ मा तालिबान सत्ताच्युत भएपछि अफगानिस्तान इस्लामिक गणतन्त्र बनेको थियो । तालिबानको भाषामा ‘इस्लमिक इमिरेट’ कुरानको नियमका आधारमा चल्नेछ । तालिबानका सर्वोच्च कमाण्डर अफगानिस्तानका एमिर बन्नेछन् । तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर अघि बढ्ने अभिव्यक्ति पनि दिएको छ । उसका प्रवक्ता मोहम्मद नाइमले तालिबानले युद्ध जितेको, अफगानिस्तानलाई शान्तिपूर्ण तरिकाले अघि बढाउने र अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध स्थापित गरेर अघि बढ्ने बताए । 

उता यसै समूहका दोस्रो वरियाताका नेता मुल्लाह अब्दुल घानी बरादरले अफगानिस्तानले विजय प्राप्त गरेको प्रतिक्रिया दिए । ‘यो युद्धमा हामी नै सफल हन्छौँ भन्नेमा कुनै शंका थिएन । मुलुकको सेवा कसरी गर्नुपर्छ भनेर देखाउनेछौँ । अफगानिस्तान शान्त र समृद्ध बन्नेछ,’ बरादरले आफ्नो भिडियो सन्देशमा भनेका छन् । बरादर अहिलेसम्म काबुल पुगिसकेका छैनन् । उनी चाँडै केन्द्रीय राजधानी पुग्नेछन् र महत्वपूर्ण जिम्मेवारी लिनेछन् । तालिबानका सर्वोच्च नेता हैबितुल्लाह अखुन्जादा भए पनि बरादर सो समूहका मुख्य फेस हुन् । 

यी दुई बाहेक तालिबानमा प्रभावशाली नेता अरु पनि छन् । जस्तै, सिराजुद्दिन हक्कानी र मुल्लाह याकुब । उनीहरू प्राय गोप्य रहन चाहन्छन् । अहिले पनि उनीहरू पाकिस्तानमा लुकेर बसिरहेको अनुमान गरिन्छ । तर तालिबान सत्तामा पुगेको स्थितीमा उनीहरू सार्वजनिक हुने सम्भावना बलियो छ । तालिबान भित्रको बलियो हक्कानी समूहको नेतृत्व गर्ने सिराजुद्दिन र तालिबान संस्थापम मुल्लाह ओमार पुत्र याकुबका लागि नयाँ जिम्मेवारी छुट्याइने अनुमान गर्न गाह्रो छैन । 

तालिबानले अफगानिस्तानमा सरकार चलाउने भएपछि निश्चय पनि मन्त्रीहरू छनौट गर्नुपर्ने आवश्यकता छ । तर तालिबान भित्रबाट तत्कालै मन्त्रालय चलाउन जान्ने मानिसहरु छन् कि छैनन् भन्ने प्रश्न उठेको छ । ‘अहिलेका लागि तालिबानले कर्मचारीहरूलाई नै मन्त्रालय चलाइराख्न भन्न सक्छ । तत्कालै केही भन्न सकिने अवस्था छैन,’ क्राइसिस ग्रुप नाम गरेको थिंक ट्याङ्कसँग आबद्ध आन्ड्रिउ वाट्किन्स भन्छन् ।

फेरि तालिबानले अन्र्राष्ट्रिय समुदायबाट मान्यता पाइहालेको अवस्था छैन । यस विषयमा पश्चिमा जगत रनभुल्लमा छ । तालिबानले सञ्चालन गर्ने अफगानी सरकारलाई आर्थिक सहयोग गर्ने वा नगर्नेमा पश्चिमा मुलुकले निर्णय गर्न सकेका छैनन् । कतिपयको भनाइ चाहिँ के छ भने, आर्थिक सहयोगलाई तालिबान सुधार्ने बार्गेनिङ चिप बनाउनु पर्छ ।   

उता छिमेकी पाकिस्तानले भने तालिबान काबुल फर्केकोमा सकारात्मक देखिएको छ । तालिबानको मुख्य सहयोगी मानिँदै आएको पाकिस्तानका प्रधानमन्त्रील इमरान खानले तालिबानको जितले अफगानी नागरिकमा रहेको मानसिक तनावको अन्त्य भएको प्रतिक्रिया दिएका छन् । उता पाकस्तिानका वातावरण मन्त्रीले भनेका छन्, ‘तालिबानको जितमा अफगानीले खुशी मनाइरहेका छन्,’ पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक पार्टी जमाइत उलेमा ए इस्लाम पनि तालिबानको जितमा हर्षित छ । 

अन्य मुलुकबाट भने फरक प्रकारको प्रतिक्रिया आएका छन् । ‘कुनै पनि मुलुकले तालिबानलाई आफू खुशी मान्यता दिनु हुँदैन । हाम्रो जस्तै विचारधारमा भएका मुलुकहरूबीच तालिबानका विषयमा छलफल हुनुपर्छ । अनि मात्रै निर्णयमा पुग्नुपर्छ । ताकि अफगानिस्तान फेरि पनि आतंकवादको अखडा नबनोस्,’ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भनेका छन् । यद्यपि तालिबानले शर्तहरू पालाना गरे मान्यता पाउनसक्ने संकेत गरे, जोनसनले । 

तालिबान दुई दशक युद्धमा रह्यो । यत्तिका वर्ष युद्ध लडिरहँदा उसले सपना देखेको छ, अफगानिस्तानलाई आफ्नो ढंगले चलाउने । आफ्नो शर्तमा चलाउने । त्यसकारण, जोनसनले भनेझैँ, पश्चिमा जगतले राख्न शर्त तालिबानले स्विकार गर्छ वा गर्दैन ? यसको जवाफ भविष्यले दिनेछ । 
दी इकनोमिस्टबाट 


Author

थप समाचार
x