विश्व

अफगानिस्तानमा तालिबानविरुद्ध झण्डा आन्दोलन

इकागज |
भदौ ३, २०७८ बिहीबार १७:४४ बजे

काठमाडौँ-हाल अफगानिस्तानका विभिन्न सहरमा मानिसहरु स्वतस्फूर्त सडक आन्दोलनमा निस्किएका छन् । तालिबान काबुल फर्किएको केही दिनपछि नै राष्ट्रिय झण्डा बोकेर अफगानी नागरिक सडकमा निस्किन थालेका हुन् । यसको सुरुवात तालिबानले अफगानिस्तानको राष्ट्रिय झण्डा हटाएर आफ्नो झण्डा फहराएपछि भएको हो । 

पश्चिमा सञ्चार माध्यमहरुका अनुसार अफगानिस्तानको पूर्वी सहर जलालाबदको एक चोकमा तालिबानी झण्डा झिकेर राष्ट्रिय झण्डा लगाइएको थियो । काबुलबाट करिब एक सय ३५ किलोमिटर परको यो सहरलाई कब्जामा लिएपछि तालिबानले राष्ट्रिय झण्डा फ्याकेर आफ्नो झण्डा लगाएको थियो । त्यसपछि आक्रोशित बनेका अफगानीहरुले तालिबानी झण्डा झिकेर राष्ट्रिय झण्डा लगाए । 


जलालबादमा मंगलबार झण्डा आन्दोलन सुरु हुँदै गर्दा त्यहाँ गोली पनि चलेको थियो । जसमा दुई जना मारिएको र अन्य १२ आन्दोलनकारी घाइते बनेको अल जजिराले लेखेको छ । बुधबार पनि आन्दोलन जारी रहेको र थप तीन जनाको गोली लागेर ज्यान गएको रोयटर्सले लेखेको छ ।  जलालबादमा मात्रै होइन, अफगानिस्तानका अन्य सहरमा पनि तालिबान र स्थानीय नागरिकबीच झण्डाका विषयमा घमािघम्सी परिरहेको छ । 

बिहीबार पनि अफगानिस्तानमा तालिबानविरुद्ध अफगानी नागरिकले जुलुस निकालेका छन् । राष्ट्रिय झण्डा बोकेका स्थानीयमाथि गोली पनि चलेको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । हाम्रो झण्डा, हाम्रो परिचय भन्दै सयौँ अफगानी सडकमा निस्किएको र उनीहरुमाथि गोली चलेको रोयटर्सले आफ्नो स्रोतलाई उद्धृत गर्दै लेखेको छ । 

कुनार प्रान्तको राजधानी असादाबादमा कयौँ मानिस मारिएको रोयटर्सले जनाएको छ । मृतकको संख्या यकिन भएको छैन । र्‍याली गरिरहेको अफगानीमाथि गोली चलाइएकाले भागदौड भएको बताइएको छ । जसकारण हताहतीमा पर्नेको संख्या ठूलो हुनसकने अनुमान गरिएको छ । 

अगस्ट १९ अफगानिस्तानको स्वतन्त्रता दिवस पनि हो । यसकारण पनि ठूलो संख्यामा अफगानी नागरिक झण्डा सहित सडकमा निस्किएको बताइएको छ । हरियो, रातो र कालो रंग भएको अफगानी झण्डा बोकेर निस्किएका नागरिकको आन्दोलनलाई तालिबान सत्तामा फर्किएपछिको पहिलो नागरिक आन्दोलन भनिएको छ । तालिबानका तर्फबाट भने यस आन्दोलनबारे कुनै प्रतिक्रिया आएको छैन । 

जललाबादमा आन्दोलन जारी रहँदा नजिकको पाकटिया प्रान्तमा पनि मानिसहरु झण्डा बोकेर सडकमा आएका छन् । कतिपय स्थानमा आन्दोलनकारीले तालिबानको झण्डा च्यातिदिएका छन् । स्थानीय अफगानी सञ्चार माध्यमका अनुसार असादाबाद बाहेक खोस्ट सहरमा पनि यस्तो दृश्य देखिएको थियो । 

जारी झण्डा आन्दोलनलाई अफगानी उप–राष्ट्रपति अमरुल्लाह सालेहले समर्थन गरेका छन् । ‘राष्ट्रिय झण्डा बोकेर सडकमा आएका सबैलाई मेरो सलाम,’ उनले ट्वीटरमा लेखेका छन् । अफगानी राष्ट्रपति असरफ घानीले मुलुक छाडेपछि सालेहले आफू अफगानिस्तानको सरकार प्रमुख भएको बताउँदै आएका छन् । 


Author

थप समाचार
x