विश्व

आक्रमणमा परी नाइजरमा ३७ जना मारिए

इकागज |
भदौ ३, २०७८ बिहीबार १९:३६ बजे

नाइजर - नाइजरमा भएको आक्रमणको घटनामा परी ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरूले बताएका छन् । 

बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ । युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ ।


तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको जनाइएको छ । युनिसेफलगायत अन्य विभिन्न निकायहरूले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन् ।

विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरूको भनाइ छ ।    उनीहरूले अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतको ख्याल गर्न पनि आक्रमणकारीहरुलाई आग्रह गरेका छन् । 

“बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,” युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ ।  (रासस)
 


Author

थप समाचार
x