को-को हुन् तालिबानका सात प्रमुख नेता ?
काठमाडौँ- तालिबान नेतृत्वको संरचनाबारे धेरै कुरा बाहिर आएको छैन । सन् २००१ अघि अफगानी शासन सत्तामा रहँदा पनि तालिबानले आफ्नो नेतृत्वबारे पर्याप्त जानकारी दिएको थिएन । केही नेताहरूको मात्रै सार्वजनिक परिचय थियो ।
तालिबान फेरि काबुल फर्केको छ । अफगानिस्तानको केन्द्रीय राजधानी फर्केको तालिबानका उपल्लो तहका नेतृत्वकर्ताहरू पूर्व लडाकू हुन् । जो १९८० को दशकमा अमेरिकी सहयोगमा सोभियत संघको सेनाविरुद्ध लडेका थिए । तालिबान सुन्नी मुस्लिम लडाकुहरूको समूह हो । तालिबानका अधिकांश लडाकु पास्तुन समुदायका छन् । जो विशेषगरी अफगानिस्ताको दक्षिणी भेगमा बसोबास गर्छन् ।
यस आलेखमा तालिबानका मुख्य सात प्रभावशाली नेताबारे चर्चा गरिएको छः
हबितुल्लाह अखुन्डजादा, सुप्रिम कमाण्डर
तालिबानको इतिहासमा अहिलेसम्म तीन सुप्रिम कमाण्डर चुनिएका छन् । तीमध्ये सन् १९६१ मा जन्मेका हबितुल्लाह अखुन्डजादा तेस्रा सुप्रिम कमाण्डर हुन् । उनी सन् २०१६ मा सुप्रिम कमाण्डर बनेका हुन् । अमेरिकी हवाई आक्रमणमा तत्कालीन कमाण्डर मारिएपछि अखुन्डजादा तालिबानको सर्वोच्च नेता बनेका हुन् । अखुन्डजादा सैन्य कमाण्डरभन्दा पनि धार्मिक नेताका रुपमा बढी चिनिन्छन् । उनी सार्वजनिक रुपमा खासै देखिँदैनन् । झन् सुप्रिम कमाण्डर बनेपछि उनका केही तस्बिर मात्रै सार्वजनिक भएका छन् । अन्तिम पटक उनको सार्वजनिक वक्तव्य भने मे महिनामा आएका थियो । इद अल फितरको उपलक्ष्यमा उनको सन्देश बाहिर ल्याइएको थियो ।
अब्दुल घानी बरादर, दोस्रो वरियताका नेता
तालिबानको नेतृत्वमा रहेकामध्ये अब्दुल घानी बरादर सबभन्दा परिचित अनुहार हुन् । कुनै समय बरादर ओसामा बिन लादेनसँग नजिक थिए । तालिबान स्थापनामा पनि बरादरको भूमिका उल्लेख्य रहेको बताइन्छ । त्यही भएर उनलाई तालिबानको सह–संस्थापक पनि मानिन्छ । बरादरले मुल्लाह मोहम्मद ओमारसँग मिलेर तालिबान स्थापना गरेका हुन् ।
बरादर सन् २०१० मा पाकिस्तानको तटिय सहर कराँचीमा पक्राउ परेका थिए । अमेरिकी खुफिया एजेन्सी (सीआईए) र पाकिस्तानी खुफफिया एजेन्सी (आईएसआई)को कब्जामा परेका बरादर जाल्मय खालिलजादको सक्रियतामा छुटेका थिए । खालिजाद तिनै व्यत्ति हुन् जो हाल अमेरिकी सरकारका तर्फबाट अफगानिस्तानका लागि विशेष दूत बनेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले तालिबानसँग वार्ता सुरु गर्ने भएपछि बरादरलाई सन् २०१८ मा रिहा गरिएको थियो ।
बरादर गत मंगलबार आफ्नो जन्मभूमी कान्दाहार पुगे । उनी केही समय कतारी राजधानी दोहामा थिए । जहाँ तालिबानले अमेरिकासँग वार्ता गर्नका लागि राजनीतिक कार्यलय खोलेको छ ।
तालिबानको कूटनीति सम्हाल्ने नेता पनि बरादर नै हुन् । फेब्रुअरी, २०२० मा तालिबान र अमेरिकाबीच शान्ति सम्झौता हुँदा तालिबानका तर्फबाट हस्ताक्षर पनि बरादरले नै गरेका थिए । उनी तालिबानी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत महिना चीन पनि पुगे । त्यहाँ तालिबानी प्रतिनिधि मण्डलले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेको थियो ।
सिराजुद्दिन हक्कानी, सैन्य कमाण्डर
तालिबानको सैन्य कमाण्डर हुन्, सिराजुद्दिन हक्कानी । सन् २०१६ मा तालिबानसँग अन्य केही लडाकु समूहले एकिकरण भएपछि हक्कानी सैन्य कमाण्डर बनेका हुन् । तालिबानभित्र उनको र बरादरको वरियाता एकै रहेको पनि बताइन्छ । हक्कानी अफगानिस्तान र पाकिस्तानका विभिन्न भागमा डुलिरहन्छन् । उनको जिम्मामा तालिबानको आर्थिक विभाग पनि छ । सैन्य सामाग्रीको व्यवस्थापन पनि उनकै नेतृत्वमा गरिनछ । हक्कानीको नेतृत्वमा भिन्दै लडाकु समूह छ, जसको नाम हो हक्कानी नेटवर्क । अमेरिका र तालिबानबीच जारी वार्तामा हक्कानी नेटवर्कलाई कसरी डिल गरिन्छ भन्ने प्रष्ट छैन ।
तालिबानमा हक्कानी परिवारबाट सिराजुद्दिन मात्र एकला हक्कानी होइनन् । त्यस परिवारका अन्य सदस्य पनि तालिबानको नेतृत्व तहमा छन् । तीमध्ये अनास हक्कानी कान्छा हक्कानी हुन् । जसको नेतृत्वमा तालीबानी लडाकुहरू अफगानी राजधानी काबुल छिरेका थिए ।
मोहम्मद याकुब, संस्थापक पुत्र
मोहम्मद याकुब, तालिबान संस्थापक मुल्लाह मोहम्मद ओमारका छोरा हुन् । एक समय थियो जब याकुब तालिबानको सर्वोच्च कमाण्डर बन्ने हल्ला थियो । ओमार पुत्र भएकाले उनी तालिबानभित्र पहिलो वरियाताको नेता बन्ने अनुमान गरिएको थियो ।
याकुबबारे धेरै जानकारी बाहिर आएको छैन । उनले पाकिस्तानमा शिक्षा लिएको बताइन्छ । हाल भने उनी अफगाकिस्तानमै छन् । उनी हक्कानीसँग मिलेर तालिबानको सैन्य गतिविधि सम्हाल्छन् ।
अब्दुल हाकिम हक्कानी, प्रमुख वार्ताकार
अब्दुल हाकिम हक्कानी सुप्रिम कमाण्डर अखुन्जादासँग नकिज रहेको विश्वास गरिन्छ । अमेरिकासँग भइरहेको वार्तामा तालिबानी समूहको नेतृत्व यिनै हक्कानीले गरिरहेका छन् । तालिबानसँग आबद्ध धार्मिक स्कलरहरूको समूहको प्रमुख पनि हककानी नै हुन् ।
शेर मोहम्मद अब्बास स्टानिकजाई, प्रमुख कूटनीतिज्ञ
शेर मोहम्मद अब्बास स्टानिकजाई तालिबानका प्रमुख कूटनीतिज्ञ हुन् । अंग्रेजी भाषामा दक्ष थोरै तालिबानी नेताहरूमध्ये स्टानिकजाई एक हुन् । तालिबानले अघिल्लो पटक सरकार चलाउँदा स्टानिकजाई सहायक विदेश मन्त्री थिए । स्टानिकजाई सन् १९९६ मा अमेरिका पुगेका थिए । त्यसबखत अमेरिका भ्रमण गर्नुको एउटै लक्ष्य थियो, किलन्टन प्रशासनलाई तालिबान सरकारलाई मान्यता दिन मनाउने । तर स्टानिकजाईको भ्रमण असफल बनेको थियो । स्टानिकजाई तालिबानी वार्ता टोलीको सदस्य पनि हुन् । अफगानिस्तान सरकारसँग वार्ता गरिरहेको अब्दुल हाकिम हक्कानी नेतृत्वको तालिबानी वार्ता टोलीमा स्टानिकजाई दोस्रो वरियातामा छन् । उनले कयौँ पटक चीन भ्रमण पनि गरेका छन्, तालिबानी प्रतिनिधि मण्डलको नेतृत्व गरेर ।
जबिहुल्लाह मुजाहेद, प्रमुख प्रवक्ता
काबुल फर्केपछि तालिबानले गत साता पहिलो पत्रकार सम्मेलन गर्यो । जसलाई सम्बोधन गरिरहेका थिए, जबिहुल्लाह मुजाहेदले । उनी तालिबानका प्रमुख प्रवक्ता हुन् । अन्तर्राष्ट्रिय समुदायमाझ तालिबानको विचार पुर्याउने जिम्मा मुजाहेदको हो । अमेरिकी फौजसँगको युद्ध दौरान तालिबानका तर्फबाट कुरा पत्रकारहरूसँग कुरा राख्ने मुजाहेद नै हुने गर्थे । अगस्ट १७ को पत्रकार सम्मेलनमार्फत मुजाहेद पहिलो पटक सार्वजनिक भएका हुन् । ब्लुमबर्गको सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया