'चीन तालिबानको अनुकरण गर्न चाहन्छ'
काठमाडौँ- ताइवानका विदेश मन्त्री जोसेफ उले चीनले तालिबानको अनुकरण गर्न खोजिरहेको आरोप लगाएका छन् । उनको आरोप चीनले ताइवान मामिलामा लिएको रणनीतिप्रति लक्षित थियो ।
अफगानिस्तानबाट अमेरिकी फौज घर फर्कदा तालिबानलाई काबुल कब्जा गर्न सजिलो भएको चिनियाँ सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् । अमेरिकाले अफगानी सरकारलाई धोका दिएकाले जो बाइडन प्रशासनलाई ताइवानले भरोसा गर्नुको औचित्य नभएको चिनियाँ सञ्चार माध्यमहरुको भनाइ छ ।
यहीबीचमा अमेरिकी विदेश मन्त्रालयले ताइवानलाई आफूहरुको समर्थन रहिरहने प्रतिक्रिया दिएको छ । चीन सरकारले ताइवानमाथि दबाब सिर्जना नगर्न पनि भनेको छ ।
अमेरिकी विदेश मन्त्रालयको यस्तो भनाइको स्वागत गर्दै ताइवानी विदेशी मन्त्री जोसेफले भनेका छन्, ‘चीन तालिबानको अनुकरण गर्न चाहन्छ । उ लोकतन्त्र र स्वतन्त्रता विरोधी हो । ताइवानी नागरिक चीनको कम्युनिस्ट शासन, एक दलिय व्यवस्था र उसका मानवता विरोधी कदमको समर्थन गर्दैनन्,’
जोसेफले ताइवान आफ्नो सुरक्षा गर्न तयार र सक्षम रहेको पनि बताए । ताइवानी मन्त्रीको भनाइप्रति चिनियाँ प्रतिक्रिया आइसकेको छैन ।
तालिबान काबुल फर्केसँगै चीनले उसँग सम्बन्ध विस्तार गर्न चाहिरहेको सन्देश दिएको छ । तर तालिबानका कारण जिनजियाङको सुरक्षा अवस्थामा खलल पुग्ने चिन्ता भने चीनमा देखिन्छ ।
पछिल्लो समय ताइवान र चीनबीच वाकयुद्ध जारी छ । चिनियाँ कूटनीतिज्ञ र सैन्य अधिकारीहरुले ताइवानमाथि दबाब बढाउन विभिन्न किसिमको क्रियाकलाप गरिरहेको आरोप ताइवानले लगाइरहेको छ ।
चिनियाँ वायु सेना र नेभीले ताइवानी भूमि नजिक निरन्तर अभ्यास गरिरहेका छन् । यसलाई अमेरिका लगायतका पश्चिमा मुलुकहरुले चीनले ताइवानमाथि दबाब बढाउने उपायका रुपमा लिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया