विश्व

खस्किएको लोकतन्त्र

बंगलादेशमा सरकारको विरोध गर्‍यो कि बेपत्ता

इकागज |
भदौ ६, २०७८ आइतबार ६:५४ बजे

काठमाडौँ - ‘बुवा घर कहिले आउनु हुन्छ ?’ साजेदुल इस्लाम सुमोनकी आठ वर्षीया छोरीले सोधिरहने प्रश्न हो, यो । सुमोन सात वर्षदेखि घर फर्किएका छैनन् । उनी कहिले फर्कन्छन् ? यो प्रश्नको जवाफ कसैले दिन सकेको छैन । त्यही पनि उनी छोरी आफ्नी आमालाई सोधिरहन्छिन् । 

सुमोनलाई बंगलादेशी प्रहरीले राजधानी ढाकाबाट गिरफ्तार गरेको थियो । गिरफ्तारीमा पर्नुको कारण, खुलाइएको छैन । तर आशंका के छ भने, उनी विपक्षी पार्टीको स्थानीय नेता भएकैले गिरफ्तारीमा परेका हुन् । प्रहरीबाट बेपत्ता पारिएका एक्ला बंगलादेशी होइनन्, सुमोन । शेख हसिना वाजेद बंगलादेशको प्रधानमन्त्री बनेपछि करिब ६ सय नागरिक गिरफ्तारीमा परि बेपत्ता भएको बताइएको छ । 


बेपत्ता भएका कयौँ बंगलादेशी फेला पनि परेका छन् । जस्तै, फोटो पत्रकार शफिकुल इस्लाम काजोल । जो हराएको ५३ दिनपछि भेटिएका थिए । त्यो पनि आँखामा पट्टी लगाइएको, हात तथा खुट्टा बाँधिएको अवस्थामा । उनी फेला परेको स्थान थियो, बंगलोदश र भारतबीचको सीमा । जहाँबाट उनलाई प्रहरीले गिरफ्तार गरी अदालतमा प्रस्तुत गर्‍यो । उनीमाथि लागेको आरोप थियो, सत्तारुढ पार्टीका नेता मुछिएको ‘सेक्स स्क्यान्डल’बारे फेसबुकमा लेखेको । 

अमिनुल अस्लाम, बेपत्ता भएका अर्का बंगलादेशी नागरिक थिए । उनी घर त फर्किएनन् तर लास भने फेला पर्‍यो । सन् २०१२ मा एक्कासि बेपत्ता भएका मजदुर नेता अस्लामको लास ढाका सहरकै एक कुनामा बेवारिसे अवस्थामा फेला परेको थियो । उनको शरीरभरी निलडाम थियो । अस्लाम जस्ता ८६ बंगलादेशी नागरिकको अहिले पनि अत्तोपत्तो छैन । 

बंगलोदशको जनसंख्या १७ करोड रहेको बताइन्छ । यसकारण लाग्नसक्छ, बेपत्ता भएका नागरिकको संख्या धेरै होइन । तर यो संख्या विपक्षी दलहरूसँग सम्बद्ध रहेकाहरूलाई त्रसाउन काफी छ । नागरिक बेपत्ता हुने घटना त छँदैछन्, मानवअधिकार उल्लघंनको गुनासो पनि अधिक छ । बंगलादेशमा मानव अधिकार उल्लघंनका घटना नयाँ विषय भने होइन । हाल प्रमुख विपक्षी पार्टी रहेको बंगलादेश नेसनलिस्ट पार्टीको सरकार हुँदा पनि नागरिक बेपत्ता हुने र उनीहरूको हत्या हुने गरेकै थियो । 

तर सन् २००९ मा शेख हसिना दोस्रो पटक प्रधानमन्त्री बनेपछि भने बेपत्ता हुने नागरिकको संख्या बढेको हो । विपक्षीलाई सकेसम्म दमन गर्नुपर्छ भन्ने मानसिकता भएको हसिना सरकारको प्रायोजनमै नागरिक बेपत्ता बनाइने कार्य भइरहेको बताउँछिन्, ह्युमन राइट्स वाचको दक्षिण एसिया प्रमुख मिनाक्क्षी गागुंली । 

हुन त नागरिक बेपत्ता भइरहने बंगलादेश एक्लो दक्षिण एसियाली मुलुक होइन । तर अन्य दक्षिण एसियाली मुलुकमा भने नागरिक बपत्ता भएको घटना सशस्त्र समूहसँग जोडिने गर्छ । बंगलादेशमा त सत्तारुढ दलको योजना अनुसार नै आफ्नो विरोध गर्नेहरूलाई बेपत्ता बनाउने गरिएको गागुंलीको दाबी छ । निर्वाचनअगाडि बेपत्ता हुने नागरिकको संख्या ह्वात्तै बढ्ने गरेको ह्युमन राइट्स वाचको भनाइ छ । 

सत्तारुढ पार्टी अवामी लिग भने नागरिक बेपत्ताका घटनाहरूलाई नै अस्वीकार गर्छ । सन् २०१७ मा प्रधानमन्त्री हसिनाले त तथ्यांक नै गलत भएको बताएकी थिइन् । उनका छोरा साजिब वाजिदले हालै एक लेख लेख्दै बंगलादेशमा नागरिक बेपत्ता भइरहेका छन् भन्नु हास्यसपद रहेको प्रतिक्रिया दिएका छन् । हराएका भनिएका मानिसहरू अपराध गरेर लुकेकाहरू हुन्, उनले दी डिपल्योम्याटका लागि लेखेको लेखमा दाबी गरेका छन् । अवामी लिग र वाजिदको प्रतिक्रिया अनि रबैयाले बंगलादेशको लोकतन्त्र कुन हालतमा छ भन्ने प्रष्ट पार्छ । 

आफ्नो मान्छे हराएकोबारे निवेदन लिएर प्रहरी चौकी पुग्ने नागरिकहरूलाई सहयोग गरिँदैन । इस्लाम रुमा आफ्ना पति मोफिजुल इस्लाम रसिद बेपत्ता भएकोबारे निवेदन दर्ता गर्न प्रहरी चौकी पुगेकी थिइन् । उनले आफ्ना पति खोजिदिन आग्रह गर्दा प्रहरीको जवाफ थियो, ‘तपाइको श्रीमान् सायद कुनै महिला लिएर भागेको हुनसक्छ,।’ 

सुमोन हराएको बर्षौपछि प्रहरी उनको घरमा पुग्यो । र, खोजतलासी गर्दै प्रहरी अधिकृत कराउन थाले, ‘सुमोन कहाँ छ ? उसलाई निकाल । मलाई उसँग कुरा गर्नुछ,’ सुमोनका भान्जा प्रहरीको हर्कत सम्झिन्छन् । के भनिन्छ भने, बंगलादेश प्रहरी भित्रको र्‍यापिड एक्सन बटालियन कयौँ नागरिक बेपत्ता पार्नमा संलग्न छ । सुरक्षा फौजका अन्य युनिट पनि यस किसिमको कार्यमा संलग्न रहेको बेपत्ता भएकाहरूको परिवार दाबी गर्छन् । 

बेपत्ता बनेका सबैको खोजी गरिन्छ भन्ने छैन । कतिपयका त परिवारका सदस्यहरू प्रहरी चौकी नै पुग्दैनन् । अफ्रोजा इस्लाम आखी यसै भन्छिन् । उनी अहिलेसम्म घर नफर्किएका सुमोनकी बहिनी हुन् । जो एउटा संस्था खोेलेर बेपत्ता बनेकाहरूको खोजीमा संलग्न छिन् । 

‘प्रहरीकोमा पुग्दा सहयोग होइन, उल्टै विभिन्न आरोप खेप्नुपर्ने हुन्छ । यसो हुँदा बेपत्ता भएका कयौँका आफन्त प्रहरीको जाँदैनन्,’ आखी भन्छिन् । उनी बेपत्ता भएकाहरूको संख्या ६ सय भन्दा बढी रहेको अनुमान गर्छिन् । ‘सायद भगवानलाई मात्रै थाहा छ, कति बंगलादेशी नागरिक गायब भएका, पारिएका छन् भनेर,’ आखीको भनाइ छ । दी इकनमिस्टबाट 


Author

थप समाचार
x