विश्व

अफगानिस्तान मामिलामा बेलायतले खोज्यो चीन र रूसको साथ

इकागज |
भदौ ७, २०७८ सोमबार ६:४१ बजे

काठमाडौँ- अफगानी सत्तामा तालिबान फर्केपछि अन्तर्राष्ट्रिय समुदाय रनभुल्लमा छ, नयाँ अफगनिस्तानसँग कसरी सम्बन्ध राख्‍ने भनेर । अफगानिस्तानकै छिमेकी चीन, रूसदेखि पश्चिमा शक्ति राष्ट्रसमेत पर्ख र हेर्‌को रणनीतिममा देखिएका छन् । सत्ता सञ्चालनमा तालिबानले आफूलाई कसरी प्रस्तुत गर्छ, त्यसकै आधारमा मात्र अफगानिस्तानसँग डिल गरिने चीनले बताइसकेको छ ।

यस्तोमा बेलायती विदेशमन्त्रीले आफ्नो मुलुकको रणनीति प्रष्ट्याउने कोसिस गरेका छन् । अफगानिस्तानमाथि अमेरिकाले हमला गर्दा साथ दिएको बेलायतले तालिबानलाई उग्र हुन नदिन चीन र रूसको सहयोग लिने भएको छ । ‘तालिबान मामिलामा बेलायतले चीन र रूससँग सहकार्य गर्नुपर्ने देखिएको छ । यी दुई मुलुकसँग बेलायतको सम्बन्ध अत्यन्तै समुधुर छैन । तर पनि तालिबानको प्रभाव फैलन नदिन हामीले चीन र रूससँग मिले । अघि बढ्नुको विकल्प छैन,’ बेलायती विदेशमन्त्री डोमिनिक राबले भनेका छन् । 


तालिबान गत साता अफगानी केन्द्रीय राजधानी काबुल फर्किएको थियो । अमेरिकी नेतृत्वको विदेशी फौज घर फर्कने क्रम जारी रहँदा उनीहरूसँगै अफगानिस्तान छाड्न चाहने हजारौँ अफगानी काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा छन् । अफगानिस्तानको पछिल्लो अवस्था प्रति चीन र रूस दुवै ढुक्क छैनन् ।

पछिल्लो समय बेलायत र चीनबीचको सम्बन्ध उति राम्रो छैन । दुई मुलुकबीच हङकङ, मानवअधिकारलगायतका विषयमा मतभेद छ । बेलायती सरकारले चीनले हङकङ, जिनजियाङलगायतका स्थानमा मानवअधिकार उल्लघंन गरिरहेको आरोप लगाउँदै आएको छ । लन्डन र मस्को पनि सन् २०१८ देखि नै टाढिएका छन् । बेलायती खुफिया एजेन्सी एमआई सिक्ससँग आबद्ध रूसी नागरिक सर्जी स्क्रिपालको रूसी खुफिया एजेन्टले हत्या प्रयास गरेपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिएको हो । मस्कोस्थित बीबीसीका पत्रकारलाई भ्लादिमिर पुटिन सरकारले देश छाड्न भनेपछि दुई शक्ति राष्ट्रबीचको सम्बन्ध अझैँ चिसियो ।

अफगानिस्तानका विषयमा भविष्यका लागि रणनीति बनाइरहेको बेलायतले त्यहाँबाट आफ्ना नागरिकको उद्धार गर्ने कार्यलाई भने जारी राखेको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार अगस्ट १३ यता करिब तीन हजार आठ सय २१ जनाको उद्धार भइसकेको छ । उता बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट सैन्य फौज फर्काउने निर्णय गरेर अफगानी जनतालाई धोका दिइएको प्रतिक्रिया दिएका छन् । सन् २००१ मा अमेरिकाले तालिबान शासित अफगानिस्तानमाथि हमला गर्दा ब्लेयरले आफ्ना सैनिक पनि पठाएका थिए । उनै ब्लेयरले अफगानी भूमिबाट विदेशी सैन्य फौज हटाउनु रणनीतिक नभई राजनीतिक फाइदा लागि भएको बताएका हुन् । 

अमेरिकाले सैन्य फौज फर्काउने निर्णय गर्दा बेलायतको राय नलिनु भनेको बेलायत विश्वका शक्तिशाली मुलुकहरूको सूचीबाट तल खस्दै गरेको सन्देश गएको पनि ब्लयेरको दाबी थियो । ‘हामी शक्तिशाली राष्ट्रबाट मध्यम शक्तिमा घटुवा हुने सम्भावना बढेको छ । सायद हामी यसमा चिन्तित छैनौँ । तर महत्वपूर्ण विषयमा निर्णय लिदाँ हामी सजग भने हुनैपर्छ,’ बेलायती अखबार दी टेलिग्राफमा प्रकाशित आफ्नो लेखमा ब्लेयरले लेखेका छन् ।


Author

थप समाचार
x