काबुल विमानस्थलमा गोली हानाहान
अफगानिस्तान छाड्न विमानस्थल जम्मा भएकामध्ये २० को ज्यान गइसक्यो
काठमाडौँ- गत अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तान छाड्न चाहने विदेशी र अफगानी नागरिकको भिड त्यहाँको विमानस्थलमा जम्मा भएको छ । अमेरिकी लगायतका विदेशी फौज आफ्नो तालिका अनुसार फर्किरहे पनि बाँकी विदेशी नागरिक आफ्नो पालो पर्खेर बसिरहेका छन् । त्यसमाथि हजारौँ अफगनी नागरिकहरु पनि अन्य मुलुक जान पाउने आशामा विमानस्थलमै बसिरहेका छन् ।
विदेशी सञ्चार माध्यमहरुका अनुसार काबुल विमानस्थल बाहिर पनि हजारौँको संख्यामा अफगानी जम्मा भएका छन् । भिडलाई नियन्त्रणमा लिन गोली समेत चलाउनु परेको छ । ठेलमठेल र भागदौड पनि हुने गरेको छ । गोली, ठेलमठेल र भागदौडका कारण अहिलेसम्म काबुल विमानस्थलमा २० जनाले ज्यान गुमाइसकेका छन् ।
सोमबार पनि काबुल विमानस्थलमा गोली चल्यो । विमानस्थलमा रहेका अफगानी सुरक्षा गार्ड र अज्ञात समूहबीच गोली हानाहान हुँदा एकले ज्यान गुमाए । मृतक अफगानी सुरक्षा गार्ड रहेको रोयटर्सले बताएको छ । सो गोली हानहानमा काबुल विमानस्थल सुरक्षार्थ रहेका अमेरिकी र जर्मन सेना पनि संलग्न रहेको बताइएको छ । अमेरिकी र जर्मन सेनातर्फ भने कुनै हाताहाती नभएको बताइएको छ ।
अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार विमानस्थलको बाहिरी क्षेत्रमा रहेका अफगानी गार्डमाथि गोली प्रहार भएको थियो । उनलाई स्नाइपरले गोली हानेको बताइएको छ । विमानस्थलको उत्तरी गेटको सुरक्षका लागि अफगानी सुरक्षा गार्डहरुले अमेरिका नेतृत्वको विदेशी फौजलाई सहयोग गरिरहेको छ । अफगानी सुरक्षा गार्डहरुमध्ये अधिकांश पूर्वअफगानी सेना र त्यहीका अन्य अर्ध सुरक्षा बलका सदस्य हुन् ।
स्नाइपरले प्रहार गरेको गोलीबाट अन्य तीन गार्ड पन घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । हमला कसले गरेको हो भन्नेबारेमा अहिले सम्म कुनै सूचना बाहिर आएको छैन ।
काबुल विमानस्थल बाहिरको सुरक्षा र भिड नियन्त्रणका लागि तालिबानी लडाुकहरु पनि खटिएका छन् । गत आईतबार तीनै लडाकुहरुले भिडमाथि कुटपिट गरेका थियो । त्यो दिनको भिड नियन्त्रण हुन नसक्दा ठेलमठेल भएको र त्यस दौरान सात अफगानी नागरिकले ज्यान गुमाएको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
विदेशी फौजले अगस्ट ३१ सम्ममा अफगानिस्तान छाडिसक्ने बताइएको छ । तालिबानले विदेशी फौजले घर फर्किने सीमा बढाउने कुरा नगरेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले समेत अमेरिकी फौज अगस्ट ३१ भन्दा उता अफगानिस्तानमा नरहने प्रष्ट पारिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया