काबुल विमानस्थल अस्तव्यस्त हुँदा अफगानिस्तानमा स्वास्थ्य सामाग्री तथा खाद्यान्न पुर्याउन सकिएन
काठमाडौँ - काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सहज रुपमा सञ्चालन नहुँदा अफगानिस्तान पुग्नुपर्ने करिब पाँच सय स्वास्थ्य सामाग्री पुग्न नसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । हाल काबुल विमानस्थलले व्यवसायिक उडानलाई प्राथमिकतामा नराखेका कारण स्वास्थ्य सामाग्री तथा खाद्यान्न अफगानिस्तान पुर्याउन नसकेको गुनासो विभिन्न अन्तर्राष्ट्रिय दाता संस्थाहरूले गरेका छन् ।
अगस्ट १५ देखि काबुलमाथि तालिबानको कब्जा छ । अफगानिस्तानमा रहेका विदेशी फौज घर फर्किरहेका छन् । अगस्ट ३१ सम्ममा सबै विदेशी फौजले अफगानिस्तान छाड्ने तालिका छ । विदेशी फौज र नागरिक बाहेक हजारौँ अफगानीले पनि आफ्नो मुलुक छाड्न चाहेका छन् । यसैकारण हजारौँको भिड काबुल विमानस्थलमा जम्मा भएका छ । यसो हुँदा काबुल विमानस्थल अस्तव्यस्त बनेको छ ।
तालिबानले अफगानिस्तानका अधिंकाश भागलाई आफ्नो नियन्त्रण्मा लिँदा शरणका लागि काबुल पुग्ने अफगानी नागरिकको संख्या गत दुई महिनामा तीन लाख रहेको बताइएको छ । उसै पनि करिब एक करोड ८५ लाख अफगानी नागरिक दैनिक खाद्यान्नका लागि विदेशी दाताको भर पर्ने गरेको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । युनिसेफका अनुसार अफगानिस्तानमा करिब एक करोड बाल बालिकालाई मानवीय सहयोगका आवश्यक परेको छन् । काबुल विमानस्थल अस्तव्यस्त हुँदा यी अफगानीका लागि खाद्यान्न लगायत अन्य आवश्यकीय सामाग्री आपूर्ती गर्न नसकिएको हो ।
‘धेरै मुलुकका ध्यान अफगानिस्तानबाट आ–आफ्ना नागरिक तथा असुरक्षित अफगानीहरूको उद्धार गर्नमा छ । तर अफगानिस्तानमै छाडिने लाखौँ अफगानीका लागि आवश्यक खाद्यान्न तथा अन्य सामाग्रीको सहज आपूर्तीका लागि कमैले ध्यान दिएका छन्,’डब्लूएचओकी प्रवक्ता इनास हमामले रोयटर्ससँग भनेकी छिन् ।
उद्धारका लागि अफगानिस्तानतिर जाने खाली विमानले अफगानी नागरिकका लागि आवश्यक सामाग्री बोकेर जानसक्ने र यसका लागि आफूहरूले अनुरोध गरिरहेको हमामाको भनाइ थियो । डब्लूएचओले आफ्नो गोदाम संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा रहेको र त्यहाँबाट सामान बोकर काबुल आउन आफूहरूले विमान कम्पनी तथा विमान पठाउने विदेशी सरकारहरूलाई आग्रह गरिरहेको हमामले बताईन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया