विश्व

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० को मृत्यु

इकागज |
भदौ १०, २०७८ बिहीबार २०:२९ बजे

मेरिडा - मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  

उनीहरूका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् । देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ ।    बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृह मन्त्री रेमीगियो सेबालोसले जानकारी दिए ।


राष्ट्रिय टेलिभिजनबाट संवोधन गदै उनले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताए । उनले वर्षाको सम्भावना अझै बाँकी रहेकोले बाढी पहिरो अझै बढ्न सक्ने खतरा रहेको पनि उल्लेख गरे ।   

थप बाढी पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गर्दै उनले उद्धारकार्यका लागि तयारी अवस्थामा रहन सरकारी अधिकारीलाई निर्देशन दिए । बाढी पहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । 

आम नागरिकको दैनिकी नै नराम्रोसँग प्रभावित भएको र धेरै मानिस त्रसित अवस्थामा रहेको अधिकारीले जानकारी दिएका छन् । (रासस)


Author

थप समाचार
x