अफगानिस्तानबाट पाकिस्तानमा २० हजार विस्थापित
इस्लामावाद- तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् ।
विस्थापित भएकाहरु अफगानिस्तानका र अन्य विभिन्न देशका नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यो सङ्ख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहरुको मात्रै भएको पनि अधिकारीहरुले बताएका छन् ।
तालिबान विद्रोहीहरुले यही अगस्त १४ तारिखका दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल आफ्नो नियन्त्रणमा लिएदेखि अहिलेसम्म काबुलबाट इस्लामाबादसम्म ३३२ उडान भएका छन् । सो उडान मार्फत ती विस्थापितहरु पाकिस्तान आइपुगेका हुन् ।
अफगानिस्तानमा रहेका धेरै मानिसले अफगानिस्तान छोड्न चाहेको र काबुल विमानस्थलमा ठूलो भीड लागेपछि पाकिस्तानले विषेश उडानसमेत सञ्चालन गरेको थियो ।
छिमेकी देशको सामान्य दायित्वका रुपमा उनीहरुलाई उद्धार गरिएको र असीमित मानिसलाई ल्याउन पनि नसकिएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ ।
कतिपय विस्थापितहरुले इस्लामाबाद विमानस्थललाई माध्यमको रुपमा मात्रै प्रयोग गरेर अन्यत्र पनि गएको उनीहरुले जनाएका छन् ।
'पाकिस्तानको सीमानाकाबाट अहिले दैनिक १८ हजार मानिस आउने जाने गरेका छन्' चामन नाकाका कोरोनाभाइरस स्वास्थ्य समूहका प्रमुख हमिद उल्लाहले भने ।
उनका अनुसार यसअघि सोही ठाउँबाट दैनिक १२ हजारले ओहोरदोहोर गर्ने गरेका थिए । यो सङ्ख्या हेर्दा पहिलाभन्दा अहिले सीमानाका प्रयोग गर्नेहरुको सङ्ख्या बढेको छ । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया