विश्व

अफगानिस्तान छाडेको २४ दिनपछि घानीले भने – सन् १९९० को जस्तो गृहयुद्ध हुन नदिन देश छोडेँ

इकागज |
भदौ २३, २०७८ बुधबार २१:४७ बजे

काठमाडौँ– अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले तालिबानले सत्ता कब्जा गरेसँगै १५ अगस्टमा देश छाडेको २४ दिनपछि औपचारिक वक्तव्य जारी गरेका छन् । वक्तव्यमा उनले तालिवानले अनपेक्षित रूपमा जबर्दस्ती राजधानी काबुल सहर कब्जा गरेपछि राष्ट्रपति भवनका सुरक्षा अधिकारीहरूसँग सल्लाह गरी देशभित्र गृहयुद्धको अवस्था रोक्न देश छाडेर गएको बताएका छन् । 

अफगानिस्तानमा यसअघि सन् १९९१ मा सोभियत युनियनको पतनपछि कम्युनिष्ट समर्थित नाजिबुल्लाह सरकार ढल्यो र मुजाहिद्दीनको प्रवेश भयो । त्यसपछि नाजिबुल्लाह सरकारका समर्थकले काबुल स्थित संयुक्त राष्ट्रसंघीय कार्यालय परिसरमा शरण लिएका थिए । यद्यपि मुजाहिद्दीन समर्थकहरूले पुरानो सत्ता समर्थकहरूलाई आक्रमण गर्दा धेरै सहरहरू मुर्दाघरमा परिणत भएका थिए । सत्तापलटमा त्यतिबेला ५० हजार अफगानीको मृत्यु भएको अनुमान छ । 


घानीले काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् तर उनले शान्तपूर्वक सत्ता छाड्नुमा काबुलका ६० लाख नागरिकको सुरक्षा जोडिएको उल्लेख गरेका छन् । उनले आफ्नो जीवनको २० वर्ष अफगानिस्तानलाई प्रजातान्त्रिक, समृद्ध, सार्वभौम बनाउन लागि परेको र आफूले कहिले पनि उक्त सोच र अफगानी जनतालाई परित्याग गर्ने सोच नभएको उनले आज विज्ञप्ति जारी गरी प्रष्ट पारेका छन् । 

उनले यसबारेमा भविष्यमा विस्तृतमा अफगानी जनतालाई जानकारी गराउने भन्दै उनीमाथि लाखौं अमेरिकी डलर लिएर भागेको भन्ने आरोप निराधार भएको बताएका छन् । महामारी जस्तो फैलिएको भ्रष्टाचारले अफगानिस्तानलाई खोक्रो पारेको भन्दै उनले आफूले सधैं भ्रष्टाचार नियन्त्रणका लागि पहल गरेको जनाएका छन् । उनले देशको नेतृत्व लिएर ठूलो योगदान गरेको भन्दै यो त्यत्तिकै पराजित नहुने बताएका छन् । 

उनले आफ्नो र आफ्नो श्रमतीको आफ्नो सम्पत्तिका सम्बन्धमा विश्वस्त रहेको बताएको छ । लेबनानमा रहेको श्रीमतिको पुख्र्यौली सम्पत्ति पनि सार्वजनिक भैसकेको बताएका छन् । उनले आफ्नो अभिव्यक्तिको संयुक्त राष्ट्रसंघको मातहतमा विश्वसनीयता परीक्षणका लागि चुनौती समेत दिएका छन् । उनले आफ्ना निकट सहयोगीहरू पनि आफ्नो सम्पत्तिको सार्वजनिक लेखापरीक्षणका लागि तयार रहेको उल्लेख गरेका छन् । उनले वरिष्ठ सरकारी अधिकारीहरू र राजनीतिक व्यक्तिहरूलाई पनि यसका लागि आग्रह गरेका छन् । 

घानीले आफ्नो जीवनकालभर प्रजातान्त्रिक गणतन्त्रमात्र सार्वभौम, शान्त र समृद्ध अफगानिस्तानको आधार हुने आफ्नो विश्वास राख्ने भन्दै सन् २००४ देखि आफ्ना सबै कामहरू इस्लामिक गणतन्त्र अफगानिस्तानको संविधानको सीमाभित्र रहेको उल्लेख गरेका छन् । 

यही संविधानका आधारमा नै सोचमा रहेका अन्तरविरोधमा संवाद गर्ने, एकले अर्कालाई विश्वस्त तुल्याउने र स्वीकार गर्ने साथै अफगानिस्तानको भविष्यका लागि साझा सोच अघि सार्ने प्लेटफर्म रहेको उल्लेख गरेका छन् । 
अफगानको जिग्रा र सुरा परम्परा प्रगाढ रूपमा प्रजातान्त्रिक र सहभागितामूलक भएको भन्दै यसले राष्ट्रलाई शान्तिपूर्ण रूपमा समृद्धितर्फ अघि बढाउनसक्ने धारणा राखेका छन् । घानीले ४० वर्षदेखि बलिदानीपूर्ण संघर्ष गर्ने सबै अफगानीहरू र खासगरी सैनिक र तिनका परिवारको मुक्तमण्ठले प्रशंशा गरेका छन् ।

घानीले आफ्नो अध्याय पनि पूर्ववर्तीहरूको जस्तै स्थायित्व र समृद्धिविना नै छाड्नुपर्ने दुर्भाग्यपूर्ण स्थितिमा टुंगिएको उल्लेख गरेका छन् । उनले यसका लागि क्षमायाचना गर्दै अफगानी जनताका खातिर आफ्नो प्रतिवद्धता कहिल्यै नडगमगाएको र उक्त प्रतिवद्धताले आफूलाई जीवनभर मार्गदर्शन गर्ने बताएका छन् । 


Author

थप समाचार
x