कहिल्यै अन्त्य नहुने अमेरिकी सैन्य हस्तक्षेप
काठमाडौँ- सन् १९९३ मा अमेरिकाले सोमालियामा सैन्य हस्तक्षेप गर्यो । तर सोमालियाको मिसनमा उ असफल भयो । सोमालियाको असफलताले अमेरिकाले भविष्यमा फेरि अन्य मुलुकमा सैन्य हस्तक्षेप नगर्ने अनुमान गरियो ।
यस्तो अनुमानले तीन वर्षपछि नै फेल खायो । अमेरिकाले यसपटक युरोपेली मुलुक बोस्नियामा सेना पठायो । त्यहाँ पनि अमेरिकी मिसनले सफलता पाएन । बोस्नियातर्फ सेना पठाएको केही वर्षपछि अमेरिकाले नेटो सदस्यहरूसँग मिलेर युगोस्लाभियामा बम खसाल्यो ।
अमेरिका यतिमै रोकिएन । एसियामा दुई मुलुक अफगानिस्तान र इराक पनि अमेरिकी हमलाको शिकार बने । सन् २०११ मा अमेरिकी सेना लिबिया पनि पुग्यो । अन्ततः अमेरिकी बमले त्यहाँ दुईवटा सरकार जन्मायो । केन्द्रीय बैंक पनि दुईवटा नै । लिबियामा हमला गरेको तीन वर्षपछि अमेरिका सिरियातर्फ मोडियो । लिबिया र सिरियामा अहिले पनि विभिन्न पक्षबीच लडाइ जारी छ ।
अफगानिस्तानबाट फौज फर्काएसँगै अमेरिकाबारे मानिसहरूले अनुमान गर्न थालेका छन्, अब उसले थप मुलुकमा सैन्य हस्तक्षेप गर्दैन । तर यस्तो अनुमान सही होइन, मुलत दुई कारणले । पहिलो, विश्व राजनीतिमा उसको स्थान । अमेरिका महाशक्ति हो । महाशक्तिले आफूसँग भएको शक्ति प्रयोग गर्दैन भन्नु पत्यारलाग्दो कुरा होइन । कुनैबेला जोसेफ कार्नोडले भनेका थिए, अमेरिका कसैबाट शासित भूमि होइन । अनि उसले कुनै पनि कुरा सहँदैन । दोस्रो, अमेरिकाका एलिट विदेश नीति निर्माणकर्ताहरू ।
वषौँदेखि भनिँदै र लेखिँदै आइएको छ, अमेरिकामा भएको सैन्य जगत र सैन्य सामाग्री उत्पादकबीचको सम्बन्धबारे । अमेरिकामा एउटा तप्का सैन्य सामाग्रीको व्यापारमा छ । उनीहरूकै समूहमा छन्, अमेरिकी कूटनीतिज्ञ, विदेश मामिलाका विद्धान र पत्रकार । उनीहरू कतिपय विषयमा एक आपस भन्दा फरक छन् ।
जस्तै, अमेरिकाले बहुपक्षिय फोरमहरूलाई महत्व दिने कि नदिने, इरानलाई विश्वास गर्ने कि नगर्ने आदि विषयमा । तर एउटा विषयमा भने उनीहरू एकैठाउँमा उभिन्छन् । जुन हो, ‘विश्वकका हरेक समस्या अमेरिकाले समाधान गर्नुपर्छ ।
अफगानिस्तान मामिलामा पूर्वराष्ट्रपतिद्वय बाराक ओबामा र डोनाल्ड ट्रम्पले यो समूहलाई बेवास्ता गर्न सकेनन् । अहिलेका राष्ट्रपति जो बाइडन केही हदसम्म यो समूहको प्रभावबाट मुक्त छन् । तर कहिलेसम्म? यो महत्वपूर्ण प्रश्न हो ।
बाइडनले पछिल्लो समय जे जस्तो निर्णय लिएका छन्, यसका लागि उनको आलोचना हुनु स्वभाविक हो । हुनसक्छ, सरकार प्रमुख सर्वशक्तिमान नहुने संसदीय व्यवस्थामा बाइडन राष्ट्रपति भएको भए, उनले राजीनामा दिनुपर्थ्यो । उनले अफगानिस्तानमा रहेका अमेरिकाका मित्रहरूलाई धोका दिएका छन् । युरोप पनि बाइडनका कारण निराश बनेको छ । त्यही भएर फ्रान्सले भनिरहेको छ, युरोप अमेरिकाको प्रभावबाट मुक्त हुनुपर्छ ।
अफगानिस्तानमा राज्य निर्माणको प्रयासमा अमेरिका असफल भएको छ । बाइडनले सोच्न सक्छन्, अमेरिका कहाँ चुक्यो भनेर । हुन त अमेरिकी फौज फर्काउने निर्णय बाइडन एक्लैले गरेका होइनन् । यसमा पेन्टागनदेखि बेलायती सासंद्सम्मको योगदान छ । फेरि पनि प्रश्न उही, अफगानिस्तानमा अमेरिका कसरी असफल भयो ? यसको जवाफ छरपस्ट छ ।
अफगानिस्तानमा युद्ध जित्न अमेरिकाको ‘स्टामिना’ पुगेन । यसकारण, भविष्यमा विश्वको कुनै भू–भागमा संकट देखा परे र त्यहाँ अमेरिका पुगे, धेरैले भन्न सक्छन्, अमेरिकाले विगतमा भन्दा थप शक्ति प्रदर्शन गर्नुपर्छ । अनि रणनीतिक रुपमा धैर्य बन्नुपर्छ । यो त एउटा चक्र हो, जुन अन्त्य हुनेवाला छैन । (फाइनान्सिय टाइम्सबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया