भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने
नयाँ दिल्ली - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।
क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जाने र त्यही बेलामा उनीहरूबीच भेटवार्ता हुने भएको हो । सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने जनाइएको छ ।
अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनाहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्ने तालिका सार्वजनिक गरिएको छ । यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ ।
त्यसैगरी गत मार्च १२ मा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरूको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा पनि बैठकमा हुने जनाइएको छ । विश्वलाई नै प्रभावित पारेको कोभिड-१९ को महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरूले गर्नुपर्ने योगदानका बारेमा पनि छलफल हुने समाचारमा जनाइएको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया