विश्व

अफगानिस्तानका शिक्षिकाहरू आफ्नो भविश्यका बारेमा चिन्तित

इकागज |
असोज ४, २०७८ सोमबार १३:२४ बजे

काबुल- अफगानिस्तानका शिक्षिकाहरू आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरूका कारण उनीहरू चिन्तित भएका हुन् ।   

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरू चिन्तित भएको शिक्षिकाहरूले बताएका छन् । मन्त्रालयले आइतबारदेखि लागु हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरूलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ ।


सूचनामा हजारौँ छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । साथै सूचनामा उनीहरूलाई कुनै निर्देशन समेत नभएको भन्दै शिक्षिकाहरू चिन्तित भएको समाचारमा जनाइएको छ ।

शिक्षिकाहरूले आफुहरू परिवारमा निर्भर हुनु पर्दा पीडा महसुस भइरहेको समेत बताएका छन् । राजधानी काबुलस्थित एक विद्यालयमा पस्तो भाषा विषय अध्यापन गराउने एक शिक्षिकाले आफुलाई विद्यालयले नबोलाएको बताइन् ।    

विद्यालय फर्किने बारेमा आफुहरूलाई कुनै सूचना छैन, कुनै जानकारी नहुँदा अन्यौल सृजना भएको छ, उनले भनिन् । उनले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताइन् ।  

उनको जस्तै अरु धेरै शिक्षिकाहरूको समस्या र गुनासो पनि उस्तै रहेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धी भएको जनाएका छन् । 

सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो बृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ । 

त्यसैगरी विद्यालय जाने छात्राहरूको सङ्ख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरूले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरूको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो । (एएनआई)


Author

थप समाचार
x