ब्राजिलको राष्ट्रपतिका छोरा बोल्सोनारो सङ्क्रमित
ब्राजिलिया - ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । सांसदसमेत रहेका एडुर्डो बोल्सोनारोले आफू सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका छन् । राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएको टोली मध्ये उनी तेस्रो सङ्क्रमित हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षीय बोल्सोनारोले आफूलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् । उनले आफैँले आफैँलाई हेरविचार गरिरहेको पनि बताएका छन् । यसअघि ब्राजिलका स्वास्थ्यमन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो । न्युयोर्कमै रहेका बेला उनलाई सङ्क्रमण पुष्टि भएकाले उनी अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा बसेका छन् ।
त्यस बाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोभिड-१९ सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन् । अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल भएको जनाइएको छ । मास्क र खोपको विरोधीसमेत रहेका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गरेका थिएनन् भने खोप पनि लगाएका थिएनन् ।
महासभाको बेलाका उनका फोटोमा मास्क नलगाएको देखिएको समाचारमा जनाइएको छ । महासभामा उनले कोभिड, यसको महामारी, मास्क, खोप, यसको व्यवस्थापनलगायतका विषयमा अरु नेताको भन्दा फरक धारणा राखेका थिए । उनले कोभिडलाई सामान्य ज्वरोका रुपमा व्याख्या गरेका थिए । मास्क र खोपको आवश्यकता नरहेको जिकिर उनको थियो ।
राष्ट्रपति बोल्सोनारोले खोप लगाउने ब्राजिलका जनतामध्ये आफू सबैभन्दा अन्तिम हुने जानकारी पनि महासभामा दिएका थिए । उनकी श्रीमती मिचेलले भने महासभामा सहभागी हुन न्युयोर्क जानका लागि खोप लगाएकी थिइन् । “खोप लगाउने वा नलगाउने कुरा व्यक्तिगत छनौटको कुरा हो, उदाहरणका लागि मेरी श्रीमतीले महासभाका लागि अमेरिका आएको बेला खोप लगाउनुभयो, तर मैले भने लगाएको छैन,” राष्ट्रपति बोल्सोनारोले भने ।
कोभिडका कारण ब्राजिलमा अहिलेसम्म झण्डै छ लाखको मृत्यु भइसकेको छ भने दुई करोड १३ लाख २७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । कोभिडबाट धेरै प्रभावित देशको सूचीमा ब्राजिल तेस्रो क्रममा रहेको छ । ब्राजिलमाभन्दा धेरै क्रमशः अमेरिका र भारतमा पहिलो र दोस्रो क्रममा रहेका छन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया