बेलायतमा इन्धन संकट समाधान गर्न सैनिक ट्याङ्कर चालकलाई काम लगाइने
लण्डन - बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले केही दिनमा आपूर्ति सहज हुने बताए । उनले राज्यमा पर्याप्त आपूर्ति रहेको बताउँदै यो अवस्था केही दिनमा सहज बन्ने उनको भनाइ छ।
तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर ‘मोटरीङ ग्रुप, आरएसी’का अनुसार केही किराना व्यापारीहरूले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन् । सरकारी अधिकारीहरूले भने आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन् । लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशंकाका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए ।
सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ । बिपी र सेलजस्ता ठूला उत्पादकहरूले बेलायतका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया